सहमति विपरीत बढी सुविधा माग्दै अस्थायी शिक्षक

काठमाडौं– आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् ।

उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।

शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा असफल भएका र भाग नलिएका अस्थायी शिक्षकको समूह ‘अस्थायी करार शिक्षक सङ्घर्ष समिति’ ले आफूहरुको भावी रोजगारीको सुनिश्चित माग गर्दै आजदेखि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना शुरु गरेको हो ।

नेपाल सरकारले शिक्षक समुदायसँगको सहमति कार्यान्वयनका क्रममा शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाको मौका दिई परीक्षाफल प्रकाशन भइरहेका बेला नवगठित समितिले सो माग अघि सारेको हो ।

परीक्षामा अनुत्तीर्ण हुने वा भाग नलिनेलाई सेवा अवधिका आधारमा उपदान सुविधा दिन सरकार तयार भएपनि सङ्घर्ष समितिले आफ्नो आगामी रोजीरोटी के हुने ? उपदान सुविधामा औषधि उपचार पाउने वा नपाउने र सो रकम कहिले पाउने भन्ने प्रश्न तेस्र्याएका छन् । अस्थायी शिक्षकको यो मागमा कार्यरत करार शिक्षक पनि मिसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?