काठमाडौं : प्रत्येक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आज (सोमवार)देखि शुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आज (सोमवार)देखि शुरु भएको हो ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो ।
पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।
यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।
पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याह्नको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिने प्रचलन रहेको छ ।
पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा पनि प्रारम्भ हुँदैछ।
यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी हो । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासले प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
राजधानीबाट उत्तर पूर्वमा रहेको प्राचीन नगर शङ्करापुर (साँखु)मा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शाली नदीमा एक महिनासम्म मेला लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया