चौधरी र रौनियार निलम्बित अवस्थामा

 काठमाडौं – दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्।

 यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको सपथ गराएका थिए। सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो। स्रोतका अनुसार, सभामुख महरालाई जेलमै गएर शपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए। त्यसै कारण आफ्नै कार्यकक्षमा प्रहरीको सुरक्षामा जेलबाट ल्याएर शपथ गराइएको थियो।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ अनुसार, ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ,’ भन्ने उल्लेख छ। संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’ नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?