महिला टी-२० फाइनलमा नेपाल र थाइल्याण्ड भिड्दै, को कति बलियो ?

काठमाडाैं । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास-२०१९ क्रिकेटको उपाधिका लागि नेपालले  घरेलु टोलीविरूद्ध  खेल्दैछ ।

हालसम्म अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले आज अपरान्ह घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरू हुनेछ ।

नेपालले थाइल्याण्डविरूद्ध मैदान उत्रदा उपाधि जित्ने लक्ष्यमा हुनेछ । लामो समयसम्म उपाधिबिहिन बन्दै आएको नेपाली महिला क्रिकेट टोलीलाई उपाधि हात पार्ने यो राम्रो अवसरसमेत हो ।

यद्यपी थाइल्याण्डलाई घरेलु समर्थकको साथ भएको हुनाले कठिन चुनौती रहनेछ ।

बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्याण्डले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो ।

समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा युएर्ईलाई ६ विकेटले तथा चौथो खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालका लागि यस प्रतियोगितामा सिता राना मगरले अलराउन्ड प्रदर्शन गरेकी छन् । सिताले ४ खेलमा १२५ रन बनाएकी छन् भने सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध ४८ रनको महत्वपूर्ण पारी खेलेर नेपाललाई फाइनलमा पुर्याएकी हुन् ।

उनी प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा रहेकी छन् । त्यस्तै नेपालकी इन्दु बर्माले ५३ र काजल श्रेष्ठले प्रतियोगितामा कुल ४५ रन बनाएकी छन् । 

त्यस्तै थाइल्याण्डका लागि नारुएमोल चाइवाईले प्रतियोगितामा १२९ रन बनाउदै धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै थाइल्याण्डबाट नताकम चन्तमले ९३ रन बनाएकी छन् ।

बलिङतर्फ भने धेरै विकेट लिने खेलाडीको सुचीमा थाइल्याण्डका बलर शिर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा थाइल्याण्डकी नताया बोचाथम र चनिदा सुथीरुनांगले १०-१० विकेट लिएका छन् भने सुलिपोम लाओमीले  विकेट लिएकी छन् ।

तर नेपालका बलरमध्ये सरिता मगरले ५ विकेट लिएकी छन् भने करुणा भण्डारी, रुबिना छेत्री र नेरी थापाले ४-४ विकेट लिएका छन् । समग्रमा भन्दा दुवै टिम अपराजित हुदै फाइनलसम्म पुगेकाले फाइनल खेल रोमान्चक हुने देखिन्छ । 

यसैबीच उपकप्तान सिता रानामगरले उपाधि जितेर फर्किने बताएका छिन् । प्रशिक्षकको योजनाअनुसार सबै खेलेकले यो नतिजा निकाल्न सफल भएको भन्दै उनले सबै खेलाडीले राम्रो प्रदर्शन गरिरहेको बताइन् ।

‘हाम्रो टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्,’ उनले भनिन्, ‘आशा छ, उपाधि जितेर फर्किनेछौं ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?