डा. केसीको अवस्था खस्कँदै, भने – मलाई सास फेर्न गाह्रो भयो

काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै सोह्रौँपटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । डाक्टर केसीले आफूलाई सास फेर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।

उपचारमा खटिएका इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा. विजयकुमार साहले आज (मंगलबार) केसीको स्वास्थ्य परीक्षण गर्दै सास फेर्न गाह्रो भएको प्रतिक्रिया दिएका हुन् ।

डाक्टर साहका अनुसार केसीको स्वास्थ्यमा इन्फेक्सन भएको छ भने रोगसँग लड्ने क्षमतामा पनि कम हुँदै गएको छ । डाक्टरले तुरुन्तै एन्टिबायोटिक चलाउनुपर्ने भने पनि केसीले भने मानेका छैनन् ।

इलाम जिल्ला अस्पतालमा गम्भीर बिरामीलाई चाहिने उपचारका सामग्रीको अभाव रहेकाले केसीको उपचारमा पनि प्रभाव पर्न सक्ने डा. केसीको उपचारमा संग्लग्न चिकित्सकहरुले बताएका छन् ।

पटक–पटक अनशन बस्दै आएका केसी यसपटक इलाममा अनशन बसेका हुन् । यसअघि उनले १५ औँ अनशन जुम्ला पुगेर बसेका थिए । इलाममा अनशन बसिरहेका केसीले आफ्ना माग पूरा नभएसम्म अनशन नरोक्ने र काठमाडौं नआउने अडान राखेका छन् ।

उनले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्ने र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने माग राख्दै अनशन बसेका हुन् । १५ औँ पटक अनशन बसेपछि सरकारले पूरा गर्ने भनेका माग विपरीत संसदीय समितिले प्रतिवेदन तयार पारेपछि उनी पुनः अनशन बसेका हुन् ।

यस्ता छन् केसीका ६ बुँदे माग:

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम  लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा्िष्ट्रय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?