वीरगञ्ज खाद्य संस्थानले किन्यो ४ हजार क्विन्टल धान

वीरगञ्ज । वीरगञ्जस्थित नेपाल खाद्य संस्थान कार्यालयले  १ करोड १३ लाख ७७ हजार ४ सय रुपैयाँ बराबरको ४ हजार ६ सय २४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ ।

सरकारले प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३ सय  देखि ४सय  क्विन्टल धान खरिद गर्दै आएको छ । चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य लिएकामा संस्थानले हालसम्म ३३ प्रतिशत लक्ष्य प्राप्ति गरी उक्त मूल्य बराबरका धान खरिद गरेको शाखा प्रमुख अम्विकाप्रसाद घिमिरेले बताए ।

निजी क्षेत्रका व्यापारीले प्रतिक्विन्टल २ हजार ५सय मा धान खरिद गर्दै आइरहेको र  गल्ला व्यापारी उधारोमा धान खरिद गर्ने गरेको छन् । यसरी खरिद गरिएको धान  कतिपयले संस्थानलाई नै बेच्दै आइरहेका छन् ।

संस्थानसँग जापान सरकारले दुर्गम क्षेत्रका लागि भनि अनुदानमा दिएको जापानी चामल २ हजार ४ सय  क्विन्टल, जिरा मन्सुली ६ हजार क्विन्टल र सोना मन्सुली १ हजार क्विन्टल मौज्दात अवस्थामा रहेको छ । संस्थानसँग ६० हजार क्विन्टल क्षमताका छ गोदाम  छन् । संस्थानले प्राप्त चामल पर्सा, रौतहट, मकवानपुर र भरतपुर कारागारलाई समेत बेच्दै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?