त्रिभुवन विमानस्थलमा १५ सय बोतल विदेशी ब्राण्डका मदिरा जफत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १५ सय बोतल विभिन्न विदेशी ब्राण्डका मदिरा जफत गरिएको छ । 

भन्सार विभागले विमानस्थल हुँदै विदेशबाट आउने यात्रुहरूले कानुन विपरीत ल्याएको १५ सय ६१ बोतल मदिरा जफत गरेको हो ।

गत सातादेखि यात्रुहरूले ल्याउने सामानमा कडाइ गरेसँगै सबैभन्दा धेरै मदिरा जफत गरिएको विभागले जनाएको छ । 

यात्रुहरूले १ लिटरसम्मको एक बोतल मदिरा राजश्व नतिरेरै ल्याउन पाउँछन् । त्यो भन्दा बढी परिमाणको मदिरा जफत गर्ने गरिएको छ ।

कडाइ गरिएको ७ दिनको अवधीमा सो परिमाणमा मदिरा जफत गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले बताए ।

सरकारले निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको हो । 

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको भन्सार अधिकृत सापकोटाको भनाइ छ । उनका अनुसार जफत गरिएको सामान लिलाम बिक्री गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?