काठमाडौं । खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसददेखि सरकारसम्म हंगामा भइरहेका ‘वाइडबडी जहाज’ले नयाँ गन्तव्य पाउन सकेका छैनन् ।
नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको सात र दोस्रो जहाज ल्याएको झण्डै ६ महिना भयो । तर, अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन ।
निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित छन् ।
नेपाल एयरलाइन्सका साहयक प्रवक्ता नवराज कोइरालाका अनुसार दुबै वाइडबडी जहाज पुरानै गन्तव्यमा धेरै यात्रु भएपछिमात्र उडिरहेका छन् । अहिले काठमाडौं–दोहा रुटमा एउटा जहाज दैनिक उडिरहेको छ भने अर्कोले आवश्यकताअनुसार उडान गरिरहेको उनले बताए ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको २४ अर्ब रूपैयाँ ऋण लगानीमा देशकै सम्पत्तिका रुपमा जहाज भित्र्याइएका थिए । तर जहाजको नयाँ गन्तव्य पहिल्याउन राज्यस्तरबाटै एकीकृत प्रयास भएको देखिदैन ।
जसकारण निगमलाई महिनामा २० करोडसम्म नोक्सान भइरहेको उडड्यन क्षेत्रका जानकारहरु बताउछन् । दैनिक १६ घण्टासम्म उडान भर्न सक्ने वाइडबडी जहाज अहिले दैनिक औसत ६ घण्टा उडानमा सीमित छन् ।
जापान र चीन उडानको तयारी अन्तिम चरणमा
काठमाडौंबाट जापान, कोरिया तथा साउदी अरेबिया सिधा उडान गर्ने भन्दै किनिएका थिए । यद्यपि एयरलाइन्सले नयाँ गन्तव्यमा उडानका लागि अहिले जापान र चीनमा काम भइरहेको बताएको छ ।
एक महिनाभित्रै जापान र अर्को एक महिनापछि चीन उडान भर्ने वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार फेब्रुअरीबाट जापानको ओशाका र मार्चदेखि चीनको ग्वानजाओमा उडान भर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
जहाज अभावमा निगमले गुमाउँदै गएको पर्यटकीय गन्तव्य फेरि फर्काउने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया