काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन प्रहरी असफल भयो ।
योबीचमा निर्मलाका परिवार, आफन्त र आम नागरिकले निर्मलाको न्यायको लागि हार-गुहार गरे । देशभर आन्दोलन भयो, दबाबमा आम नेपाली उत्रिए तर, प्रहरी भने अनुसन्धानमा असफल बन्दै गयो ।
आशंकामा विभिन्न व्यक्तिलाई समात्दै र छोड्दै गरेको प्रहरीको अनुसन्धानमाथि नै आम नागरिकले प्रश्न गर्न थालेका छ । कोपिलामै चुँडिएकी छोरीलाई न्याय दिलाउन बाबु यज्ञराज र आमा दुर्गादेवीले प्रहरी प्रशासनदेखि देशकै प्रमुख कार्यकारीको ढोका ढक्ढक्याए ।
जनस्तरमा दबाब बढ्दै जाँदा एकपछि अर्को अनुसन्धान टोली गठन गरियो, ती टोलीले ठेलीका ठेली प्रतिवेदन बुझए, तर ती प्रतिवेदनहरूमा दोषी को हुन्, यकिन भन्न सकिएको छैन । न्यायको आशा दिनप्रतिदिन क्षीण बन्दै गए पनि निर्मलाका परिवार र न्यायप्रेमी समुदाय दबाब दिन भने छोडेका छैनन् ।
न्यायका लागि भौतारी रहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले निर्मलाको शरीरबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ उनकै हो/होइन एकिन गर्न रगतको नमुना दिएकी छन् । यही विषयमा दुर्गादेवी र यज्ञराजबीच विवाद उत्पन्न भएको छ ।
यज्ञराज र दुर्गादेवीको झगडा किन ?
निर्मलाको हत्याको विषयमा अनुसन्धानमा संलग्न टोलीले दुर्गादेवीको रगतको स्याम्पल लिएकोमा यज्ञराजले दुर्गादेवीसँग झगडा सुरु गरेका हुन् । रगतको नमुना आफूलाई नसोधेर दिएको भन्दै यज्ञराज आक्रोसित भए, उनले दुर्गादेवी बस्दै आएको घरमा गएर कुटपिटको प्रयास समेत गरे ।
दुर्गादेवी भन्छिन्, ‘रगत किन दिएको? मलाई फसाउन खोज्ने भन्दै ममाथि कुटपिटको प्रयास गरे ।’ रगत दिएको र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरेको उनले बताइन् ।
प्रत्यक्षदर्शीका अनुसार यज्ञराजले घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएका थिए । यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो ।
निर्मला पन्तको शरीरबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैद्यता माथि नै प्रश्न उठेपछि केहीदिन अघि अधिकारकर्मीले निर्मलाका बुवाआमाको रगतको नमुना संकलन गरेर देखाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष आग्रह गरेका थिए ।
न्यायका लागि भौतारी रहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले निर्मलाको शरीरबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ उनकै हो/होइन एकिन गर्न रगतको नमुना दिएकी छन् । तर रगतको स्याम्पल दिँदा र सरकारबाट राहत बुझे न्यायको प्रयास कमजोर बन्दै जाने यज्ञराजको तर्क छ ।
यसअनुरुप नै बुधबार दुर्गादेवीले स्वेच्छाले रगत दिएकी थिइन् । तर रगतको स्याम्पल दिँदा र सरकारबाट राहत बुझे न्यायको प्रयास कमजोर बन्दै जाने यज्ञराजको तर्क छ ।
प्रहरीले अहिलेसम्म भएको अनुसन्धानको बारेमा जानकारी गराएर आफ्नो रगत लिएको भन्ने व्यहोराको पत्र दिएमात्रै त्यसप्रकारको स्याम्पल दिने उनको शर्त छ । अनुसन्धान टोलीले त्यस्तो पत्र नदिएपछि उनले रगत दिन पनि अस्वीकार गरेका थिए ।
विवादको जड ‘बहकाव’ पनि !
उसो त निर्मलाको निम्ति न्याय माग्दै अधिकारकर्मी र न्यायप्रेमीले सरकारलाई दबाब दिन छोडेका छैनन् ।
यहिक्रममा फरक-फरक धारणा आइरहँदा यज्ञराज र दुर्गादेवी ‘बहकाव’मा आए र गतल सञ्चारले विवाद सुरु भयो । कसैले रगतको स्याम्पल दिन सुझाए भने कसैले त्यसो गर्दा न्याय नै कमजोर हुने बताए । यसले नै दम्पतीमा विवाद भयो ।
दुर्गादेवीले हत्याको अनुसन्धानको क्रममा के भइरहेको छ भन्ने खुलाउन पनि मद्यत गर्ने ठानेर अधिकारकर्मीहरुसँगको परामर्शमा नै स्याम्पल दिएकी थिइन् । अर्कातर्फ उनले राहत बुझ्ने आशय पनि व्यक्त गरेका थिइन् तर यज्ञराज भने यी दुवै कुराले आक्रोशित बनेका छन् ।
के भयो सहमति ?
विवादले गर्दा दुर्गादेवीलाई राति कुनै समस्या आउने हो कि भन्ने सुरक्षा चिन्ता थियो । मनमा चिन्ता बोकेर नै उनले यज्ञराजकी कान्छी पत्नी अर्थात् ‘सौता’ लक्ष्मीदेवीसँग कुराकानी गरेकी थिइन् ।
लक्ष्मीसँगको कुराकानीमा उनले सुरक्षाका लागि प्रहरीमा उजुरी दिऔं कि के गरुम् भनेर सोधेकी थिइन् तर, लक्ष्मीले त्यसरी उजुरी नदिन बरु आफूले पति यज्ञराजलाई संझाउँछु भनेकी थिइन् ।
लक्ष्मीले पनि अहिले नै राहत रकम नलिन आग्रह गरेकी थिइन् । उनले राहत रकम लिएमा प्रहरीले अनुसन्धान नै नगर्ने सम्भावना भएकोले कम्तिमा १ महिना रकम नलिइ आन्दोलन गरेर दबाब दिऔं भन्ने प्रस्ताव गरेकी थिइन् ।
दुर्गादेवीले लक्ष्मीलाई ‘छोरीलाई न्याय प्राप्त हुन्छ भने १ महिना त के २ महिनापनि राहत रकम लिन्न’ भन्ने जवाफ दिएकी थिइन् । न्यायको आश क्षीण बन्दै गएका बेला ५ महिनादेखि संघर्षरत परिवारमा विचलनको खतरा समेत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया