सामूहिक आलु खेतीतर्फ तनहुँका महिला

दमौली । तनहुँको भीमाद नगरपालिका–९ जौपानीका महिलाले सामूहिक आलुखेती शुरु गरेका छन् ।

गत वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका यहाँका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलुखेती शुरु गरेका हुन् । जौपानी आमा समूहमा आवद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती शुरु गरेको स्थानीयवासी लक्ष्मी क्षेत्रीले जानकारी दिए ।

आमा समूहमा आवद्ध महिलाको जग्गामा नै सामूहिक आलुखेती शुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार सो ठाउँमा ५५० केजी आलुको बीउ रोपिएको छ । 

नगरपालिकाले सामूहिक आलुखेतीको लागि प्राविधिक सहयोग समेत गरेको छ । सामूहिक आलुखेती गर्दा काममा समेत सहजता हुने क्षेत्रीले बताए। “कसैले मल बोक्ने, कसैले डल्ला फोर्ने गर्दा रमाइलोका साथै काम गर्न समेत सहज हुने रहेछ”, उनले भने। वडाध्यक्ष इमान थापाले सामूहिक आलु खेतीका लागि नगरपालिकाले बीउ खरिदमा रु एक लाख सहयोग गरेको जानकारी दिए ।

यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाका महिलासमेत सामूहिक आलु खेतीतर्फ आकर्षित भएका छन् । सो गाउँपालिकास्थित जामुने, धयरे, थर्पु, मनहरि, शेराफाँट र छाङपाटनमा महिलाले सामूहिक आलुखेती गरेका छन् । म्याग्दे–३ धयरेका शोभा अधिकारीले सामूहिक आलुखेती गर्दा सजिलो हुने गरेको बताए ।

गाउँपालिकाभित्रका ४५० जना महिलाले २६० रोपनी क्षेत्रफलमा सामूहिक रुपमा आलुखेती गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । गाउँपालिकाले सामूहिक आलु खेतीका लागि प्राविधिक सहयोग र बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उनका अनुसार तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले आलु खेतीमा लाग्ने कृषकलाई थप प्रोत्साहन गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?