सुत्केरीलाई सेनाको रगत

बेत्रावती । रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीकी सीताकुमारी मोक्तान सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त भएकी छिन् ।

ब्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली भर्ना भएकी २३ वर्षीया मोक्तान सामान्य अवस्थामा सुत्केरी भए पनि अत्यधिक रक्तश्रावले जोखिम बनेको शरीरमा आवश्यक रगत आज नेपाली सेनाले उपलब्ध गराएको हो । 

“पहिलो सन्तानका रुपमा छोरी जन्माएकी मोक्तानको शरीरको रगत निकै खेर गएर शरीर शिथिल भएको थियो ।” जिल्ला अस्पतालका डा मधुकर दाहालले भने, “दाताको सहयोगमा चार प्रिन्ट रगत दिएर बचाएका छौँ ।” 

उनलाई आवश्यक ‘बी पोजेटिभ’ समूहको रगत श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी विद्युत्कुमार बस्नेत र सिपाही अजय चौधरीले दान गरेका थिए । चार पिन्ट रगत आवश्यकपर्नेमा बाँकी सुत्केरीका जेठाजु दिलबहादुर मोक्तान र बट्टारका ओम अमात्यले दिएका थिए । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत उपलब्ध गराउँदै आए पनि हाल अभाव रहेको छ । 

दातामा जनचेतनाको अभाव र नियमित रक्तदान कार्यक्रम नहँुदा पछिल्लो समय रगतको अभाव भएको केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताए । यहाँ रगत अभाव हुँदा नेपाली सेनाबाट आवश्यक रगत उपलब्ध गराई धेरै बिरामीको ज्यान बचाउन सहयोग पुग्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?