डा. केसी इलाम पुगे, फेरि अनसन बस्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक आमरण अनसन बसेका डाक्टर गोविन्द केसी चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने माग राख्दै पुनः अनसन बस्न इलाम पुगेका छन् । योसँगै उनी १६ औँ पटक अनसन बस्दैछन् ।

आफ्नो माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका डा. केसीले आजसम्म अल्टिमेटम दिँदा पनि सरकारले चासो नदिएपछि पुनः अनसन बस्ने भएका हुन् ।

डाक्टर केसीका सहयोगी अभिषेक राज सिंहले एक ट्वीट गर्दै सत्याग्रहको तयारीका लागि इलाम पुगेको जानकारी दिए ।

१६ औँ अनसन केसी बुधवारबाट बस्नेछन् । केसीका ३ बुँदे माग पूरा गर्न दबाब दिन उनले अनसन थाल्न लागेका हुन् ।

मागअनुसार केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् भने संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न पनि माग गरेका छन् ।

पहिलो बुँदामा केसीले सातै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य थाल्छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न लगायतका माग राखेका छन् ।

यस्तै दोस्रो मागमा केसीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनामा संग्लग्नलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन समेत माग गरेका छन् ।

केसीले तेस्रो मागमा सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषीमाथि कारवाही गर्न माग गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?