तीन साता अगाडि नुवाकोटको घ्याङफेदीमा भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्तिबापतको रकम वितरण गरिएको छ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको विकट दुप्चेश्वर गाउँपालिका- १ को घ्याङफेदीमा गएको मङ्सिर २८ गते मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका २१ जनाका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई आफ्नो संस्कार अनुसार सद्गत गर्न राहतस्वरुप २५ हजार रुपैयाँ रकम उपलब्ध गराएको हो।
यता गाउँपालिकाले सो घटनामा ज्यान गुमाएकाको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर गरेको छ । दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले आर्थिक सहयोग प्रदान गरिएको हो।
यसैबिच नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं। ४ का समाजसेवी ईश्वर कार्कीमार्फत संकलन भएको ४४ हजार रुपैयाँ गाउँपालिकामार्फत मृतकका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।
यस्तै नुवाकोटको शिवपुरी गाउँपालिकाले पनि सहयोगस्वरुप दुई लाख १० हजार रुपैयाँ दुप्चेश्वर गाउँपालिकालाई उपलब्ध गराएको छ। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका(७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि प्रति मृतकका परिवारलाई १०/१० हजार रुपैयाँ उपलब्ध गराइसकेका छन्। सो दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो।
गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा एक लाख, दुप्चेश्वर गाउँपालिका(६ समुन्द्रटारका मधुकर पाण्डेबाट १ लाख, हिरारत्न जलविद्युत् आयोजनाले ५० हजार, शिक्षक सङ्घ नुवाकोटले ११ हजार, दुप्चेश्वर गाउँपालिका- ५ का वडासदस्य होमबहादुर तामाङले ९ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
दुर्घटनालगत्तै मिनिट्रकका चालक रामभक्त थापा र सह-चालक साने बुढाथोकी अझै फरार छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया