काठमाडौं । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई पितृशोक परेको छ ।
व्याकुल माइलाका पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा बिहीवार राति १ बजे निधन भएको छ ।
मानबहादुर राई विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए ।
केही दिनयतादेखि अलि असहज महसुस गर्दै आएका राई बिहीवार राति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।
विसं २००४ साल असोजमा जन्मएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत थिए ।
पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ गएका छन् । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।
स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया