निर्मला हत्याको दोषी अझै गुमनाम

 धनगढी – आरोप स्विकारेका प्रदीप रावल र विशाल चौधरी डिएनए नमिलेर रिहा भएपछि प्रहरीले अझ सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
‘हामी सबै कोणबाट र सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं’, अनुसन्धान अधिकृत कृष्ण ओझाले भने। अहिलेसम्म कुनै भन्न लायक प्रगति नभएको प्रहरीको भनाइ छ। आरोप स्विकारेका विशाल र प्रदीपलाई पनि दोषी ठहर गर्ने प्रमाण नजुटेपछि सिआइबी नयाँ टोली कञ्चनपुरमा खटिएको छ। सिआइबीका एसपी सुदीप गिरीको संयोजकत्वको समितिले अनुसन्धान गरिरहेको छ।

‘सम्भाव्यता खोज्दैछु , बुझ्नुपर्ने कुरा बुझिरहेका छौं। अनुसन्धान गरिरहेका छौं’, एसपी गिरीले भने, ‘अहिले भनिहाल्न मिल्ने उल्लेख्य प्रगति भएको छैन।’ सिआइबीले सुरुदेखि नै अनुसन्धान नियमित गरिरहेको र यसै क्रममा आफूहरू पनि अनुसन्धानका लागि आएको उनको भनाइ छ।

निर्मला हत्यामा आरोप स्विकारेका भनिएका भीमदत्त नगरपालिका १६ सालघारी बस्ने प्रदीप रावललाई साधारण तारेखमा रिहा गरिएको छ। प्रहरीसँगको बयानमा उनले आरोप स्विकारे पनि डिएनए रिपोर्ट नमिलेको र अन्य जस्टिफाई गर्ने प्रमाण नभेटिएकाले उनलाई काठमाडांै जिल्ला प्रशासनबाट माघ १० गते हाजिर हुने गरी रिहा गरिएको हो। उनका आफन्त काठमाडांैमा कोही नभएकाले शान्तिका लागि साझा अभियानका अध्यक्ष बद्री भुसालले जिम्मा लिएका थिए। नागरिक दैनिकमा खबर छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?