काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम आज घटेर १.४ डिग्री सेल्सियसमा झरेको हो ।
बिहान ५ : ४५ बजे १.४ मापन भए पनि आज न्यूनतम तापक्रम अझै घट्न सक्ने मौसमविद शान्ति कँडेलले बताइन् । उनका अनुसार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
बिहिबार न्यूनतम तापक्रम ५.५ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो हावा चलेपछि बिहिबार पनि काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको थियो ।
तर आज भने बिहिबारको जस्तो चिसो हावा नचल्ने पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमि वायुको प्रभावका कारण मौसमी गतिविधिमा फेरबदल भइरहेको हो ।
अस्पतालमा बिरामी बढे
चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।
चिकित्सकहरुले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने समस्या भने निको नभएर आउने बढी रहेको बताएका छन् ।
बिहान चिसो पानीले दिनहुँ नुहाउने वृद्धवृद्धालाई पनि श्वासप्रश्वास, रुघाखोकीको समस्या बढी देखिएर वीरमा उपचारका लागि आउने बिरामी बढी छन् । रुघाखोकी लागेका समयमा मास्क लगाएर मात्र बाहिर निस्कन, धेरै हूलमूल र भीडभाड कम जान चिकित्सकले सुझाव दिएका छन् ।
फ्लु टाइप ए फैलिँदै
नेपालका विभिन्न स्थानमा सामान्य रुघाखोकीमा जस्तै लक्षण देखिने ’टाइप ए इन्फ्लुएन्जा’ को सङ्क्रमण भएका बिरामीहरूको सङ्ख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् ।
काठमाडौं उपत्यका र केही जिल्लामा मौसमी रुघाखोकी गराउने ’टाइप ए इन्फ्लुएन्जा’ नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले विश्वमा सबैतिर मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघाखोकीजस्तो देखिने भए पनि हेलचेक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने बताए ।
एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाडाैं उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा ’टाइए ए इन्फ्लुएन्जाका’ को सङ्क्रमण भएका बिरामीहरू देखिन थालेका छन् ।
सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन महाशाखाका प्रमुख डाक्टर लालकाे आग्रह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता सरुवा रोगबारे अध्ययन गर्ने क्रममा यसै हप्ता सो भाइरस फैलिरहेको पत्ता लगाएको हो ।
मधुमेह, दम र अन्य दीर्घरोग भएका रा कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ । अहिले देखिएको ’फ्लु टाइप ए’ भाइरसबाट जोगिन भने सामान्य सावधानी नै पर्याप्त रहेको महाशाखा प्रमुख लालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया