कांग्रेसमा ‘अर्लि’ महाधिवेशनको पक्षमा सिटौला समूह

काठमाडौं ।  महासमिति बैठक सकिएको एक साता पूरा नहुँदै नेपाली कांग्रेसमा ‘अर्लि महाधिवेशन’ को आवाज उठेको छ ।
कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला समूहले नयाँ संरचनाअनुसार बनेको विधानमा टेकेर ६ महिनाभित्र पार्टीको १४औं महाधिवेशन गर्न नेतृत्वसँग माग गरेको हो ।
कांग्रेसले महासमिति बैठकमार्फत नै पार्टीलाई मुलुकको संविधानअनुसार संघीय संरचनामा लैजाने उद्घोष गरेको थियो । संघीयस्वरूपमा पार्टीलाई लैजान कांग्रेसको विधानसमेत बनिसकेको छ ।

१३औं महाधिवेशनमा फरक धारका रूपमा कांग्रेस सभापतिका लागि उम्मेदवारी दिएका नेता सिटौलाले बिहीबार राजधानीमा पत्रकारसँगको अन्तक्र्रियामा ‘अर्लि’ महाधिवेशनको माग गरेका हुन् ।
‘पार्टीलाई संघीय स्वरूपअनुसारको संरचनामा लैजान विधान बनिसक्यो, अब महाधिवेशनका लागि बाँकी समय नै कुर्नुपर्छ भन्ने छैन, जेठभित्रै महाधिवेशन गर्न सकिन्छ,’ सिटौलाले भने, ‘६ महिनाभित्रै हुनेगरी अर्लि महाधिवेशन तोकौं ।’
पार्टीको गतिशीलताका लागि सबै तहमा संघीय संरचनाअनुसार पार्टीको संगठन विस्तार गर्न आगामी १४ जेठभित्र महाधिवेशन गर्नेगरी तालिका बनाएर अघि बढ्न सकिने उनले जनाए ।
उनले अर्लि महाधिवेशनका लागि सहज नभए संक्रमणकालीन व्यवस्थाअनुसार तल्लो तहबाट नै निर्वाचन गर्दै अघि बढ्न सकिने समेत जनाए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?