जोशी इजलासका निर्णय: सुमार्गीको रकम नरोक्नू

काठमाडौँ — राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ ।

उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न भनेको हो । सर्वोच्चको यो आदेशपछि सुमार्गीको करिब ८४ करोड रुपैयाँ फुकुवा भएको छ ।

‘उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समयतालिकाबमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनू र सोसम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू नगराउनू’ आदेशमा भनिएको छ । यो आदेशअनुसार मुद्दामा पुनस् छलफल हुने भए पनि रकम खोलिसकेकाले त्यसको खासैअर्थ नहुने कानुनविद्हरूको भनाइ छ ।

यसअघि पनि सुमार्गीको अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकमका नाममा रोक्का रहेको करिब २ अर्ब २० करोड रुपैयाँ रकम सर्वोच्चको अन्तरिम आदेशबाटै फुकुवा भइसकेको छ । अन्तरिम आदेशबाट रकम फुकुवा गरेको सर्वोच्चले मुद्दाको विस्तृत सुनुवाइ र फैसलामा भने तदारुकता देखाएको छैन । कान्तिपुर दैनिका खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?