राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुरा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको छ । 

१२ वैशाख २०७२ मा गएको महाभूकम्पले क्षति पुगेको बस्ती, पुरातात्विक महत्वका सम्पदा निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको हो । 

२०७२ पुस १२ गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ४५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । 

प्राधिकरणले कार्यकालको बाँकी २ वर्षे समयावधिमा ५५ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ । 

पछिल्लो समय स्थानीय तहसँगको सहकार्यले पुनर्निर्माणमा थप हौसला मिलेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा देखिएका सबै गुनासो र समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

गुनासो सम्बोधन, वस्ती स्थानान्तरण, पुरातात्विक महत्वका सम्पदा निर्माण लगायतमा प्राधिकरण गम्भीर रहेको उनको भनाई थियो ।

पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्थापना योजनाका लागि करिब १० खर्ब लाग्ने अनुमान गरेको प्राधिकरणका सीईओ ज्ञवालीले ६७ अर्ब राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भइसकेको जानकारी दिए ।

बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता आएको बताइए पनि वास्तविक रकम ३ खर्ब ४३ अर्ब मात्रै भएको र ६२ अर्ब रुपैयाँको लागि मात्रै सम्झौता भएको बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?