बैतडी : ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका-९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । 

प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । 

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो । लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए ।

‘हत्याबारे केही खुल्न सकेको छैन,’ प्रहरी निरीक्षक बोगटीले भने । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?