पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो

 काठमाडौं–पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् ।

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए ।

गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो। त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा राप्रपाका नेतासँग भेट गरेका थिए ।

भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुगेका ज्ञानेन्द्रले हिजो आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना स्थानीय नेतासँग सामूहिक भेट गरे ।
भेटमा सबैले देशमा राजतन्त्र र हिन्दू राज्य ल्याउन आन्दोलन गर्नुपर्ने विकल्प नभएको सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई दिएका थिए। आफ्ना परिवारका लागि भन्दै करिब २४ वटा कोठा बुक गरेका पूर्वराजाले होटलमै सबैसँग भेटघाट गर्दै आएका छन् ।

केही दिनका लागि सो होटलमा नेपाली पाहुना नराख्न पूर्वराजाले आग्रह गरेपछि होटल प्रशासनले विदेशी पाहुनालाई मात्र होटलमा राखेको छ। अहिले ज्ञानेन्द्र, कोमल, निजी सचिव सागर तिमल्सिना, निजी सुरक्षा गार्ड, केही सहयोगी र निजी चालक सूदन थापा मात्रै होटलमा बस्दै आएका छन्।् ।  नेपाल समाचारपत्र दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?