काठमाडौं । महानगरीय प्रहरी प्रभाव लाकुरीभञ्ज्याङको कार्यालयमा गोली लागेर एक प्रहरी हवल्दार घाइते भएको प्रकरणमा अर्का प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।
गएराती सवा ९ बजेतिर लाकुरीभञ्ज्याङ प्रहरी प्रभागका प्रमुख असई रमेश तामाङलाई भेट्न गएका महानगरीय विपद व्यवस्थापन प्रहरी कार्यालय सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठलाई गोली लागेको थियो । दुई जना तामाङको कोठामा बसेर पेस्तोलबाट म्यागजिन निकालि गोली अनलोड गर्ने क्रममा अकास्मात पड्किन पुगी श्रेष्ठलाई लाग्न पुगेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
श्रेष्ठको बायाँ गालामा गोली लागेको र उनको इमाडोलस्थित किष्ट अस्पतालमा सामान्य उपचारपछि अहिले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले घटना सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रको कमाण्डमा ५ सदस्यिय छानविन समिति गठन गरिएको जानकारी दिए । पक्राउ परेका असई तामाङलाई महानगरीय प्रहरी वृत सातदोबाटोमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया