दाङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २३ पुग्यो

दाङ । शुक्रवार साँझ राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका –३ राम्रीमा शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २३ पुगेको छ । 

नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत घाइते २ जना मध्ये जुम्लाका बिरेन्द्र कडालाको शनिवार बिहान मृत्यु भएको हो । यी मध्ये ६ जनाको मात्रै सनाखत भएको छ । 

मृत्यु हुनेमा १९ पुरुष र ४ महिला छन् । 

दुर्घटनामा घाइते ९ पुरुष र ५ महिला गरी १४ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

घाइते मध्ये १३ जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्यै मृत्यु हुनेमा गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ भने अन्यको सनाखत हुन बाँकी छ ।

गाडीमा ३४ विद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको शैक्षिक भ्रमण बस तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा दुर्घटना भएको थियो । बस सडकबाट ७ सय मिटर तल खसेको थियो । 

बस टुक्राटुक्रा भएको र भिरालो भूगोल भएका कारण उद्धारमा समस्या भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन् । बस दुर्घटनाको कारण थाहा हुन नसकेको उनले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?