काठमाडाैं । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा । यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ ।
यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ ।
विशेषगरी पहाडी भेगमा आज गोठपूजा(गोठधुप) गर्ने चलन छ । गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ ।
नेवार समुदायमा योमरी पुन्हि
उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
किरात उधौली मनाउँदै
आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।
प्रगतिपथमा अग्रसर हुन प्रेरणा होस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृतिपूजक किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
उधौली पर्वका अवसरमा दिएको शुभकामना सन्देशमा उनले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाल साझा फूलबारीका रुपमा सिँंगारिएको तथा नेपालीले मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताएकी छन् ।
उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशलाई प्रगतिपथमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
उक्त अवसरमा आज शुभकामना दिँदै उनले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना दिएका छन ।
मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्व पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुेन बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् । ‘हाम्रो जातीय, भाषिक र धार्मिक विविधतानै नेपालीलाई एक सूत्रमा बाँध्ने माध्यम भएका छन्’, प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।
मङ्सिरे पूर्णिमाको दिन खास गरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गरेका छन् । योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
यस्तै दलका शीर्ष नेताहरुले पनि योमरी पूर्णिमा नेवार समुदायको योमरी पुन्हि र किरात समुदायको पर्व उधौलीको सुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया