काठमाडौं– गत जेठमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको ७ महिनामै विवादको चंगुलमा फसेको छ ।
पार्टीको राजधानीमा जारी तेस्रो स्थायी कमिटी बैठकमा बोल्ने दुई तिहाई बढी स्थायी कमिटी सदस्यले नेतृत्वप्रति गरेको त्व्रि आलोचनाबाटै पार्टीभित्र चरम मतभेद रहेको प्रष्ट बुझ्न सकिन्छ ।
यसो त नेृतत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सचिवालय सदस्य वामदेव गौतमले छुट्टै पूरक प्रस्ताव समेत पेश गरेका छन् । बैठकमा बोल्ने सदस्यहरुले नेतृत्व (केपी ओली र प्रचण्ड) को चर्को आलोचना गर्दै बरु गौतमको प्रतिवेदनमा समेटिएका विषयलाई समेटेर अघि बढिनुपर्ने धारणा राखेका छन् ।
कतिपय सदस्यहरुले त पार्टी र सरकारले भ्रष्टहरुलाई नै संरक्षण गर्ने काम गरेको भन्दै गम्भीर सवाल समेत उठाएका छन् ।
पार्टीभित्र आवश्यक छलफल नभएको भन्दै तल्लो तहका नेताले तीव्र आलोचना थालेपछि नेतृत्वले शनिबारको लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।
शनिबारको बैठकमा अध्यक्षद्वयले २२ पन्ने राजनीतिक प्रस्ताव पेश गरेका थिए भने सदस्यहरुले अध्ययन गरेपछि सोमबारदेखि सदस्यहरुले धारणा राख्न थालेका थिए । यस्तै गौतमको प्रतिवेदन पनि १७ पन्ने रहेको छ ।
भाग पाउने मौन नपाउने आक्रामक :
४५ सदस्सीय स्थायी कमिटी बैठकमा बिहीबारसम्म ३४ सदस्यले धारणा राखेका छन् ।
जसमा अधिकांश सदस्यले नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।
रोचक त के छ भने पार्टीभित्र अवसर नपाएका भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाललगायतले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् भने अवसर पाएकाहरु वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, रघुवीर महाशेठलगायत भने सरकार र पार्टी नेतृत्वको बचाउनमा देखिएको नेताहरुले बताएका छन् ।
पार्टीगत रुपमा भने पूर्व एमालेका नेताहरु ओलीसँग आक्रामक देखिए भने पूर्व माओवादीका नेताहरु नरम देखिएका छन् ।
नेकपा नेता झलनाथ खनालले अधिकाँश सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आलोचना गरेको जानकारी दिए । उनले राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरुले नेतृत्वलाई सुझाव दिएको बताएका छन् ।
छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
देव गुरुङ देखिए अपवाद !
बुधबारको बैठकमा देव गुरुङ फरक शैलीमा प्रस्तुत भए । नेकपाभित्र अवसर पाएका र नपाएकाहरुले स्पष्ट अनुभूति हुने गरी धारणा राखिरहेका बेला गुरुङले भने फरक खालको धारणा राखेको एक सदस्यले जानकारी दिए ।
पार्टीभित्र एकतापछि अवसर नपाएपनि उनले न त सरकारको आलोचना गरे न त पार्टी नेतृत्वको नै ।
उनले बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमा कुनै समस्या नभएको बताए । उनले भाषामा केही तलमाथि देखिएको र त्यसलाई चाहीँ सच्याइनुपर्ने सुझाव दिए ।
उनले यो धारणा राख्दा बैठकमा अरु सदस्यहरु खासखुस गर्न व्यस्त रहेको एक नेताले सुनाए ।
बैठकमा सरकारको बचाउन गर्न पनि आह्वान :
बैठकमा चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका गर्न आह्वान भएको छ । बिहिबारको बैठका नेताहरुले पार्टी र सरकारको बचाउन गर्न रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठाएका छन् ।
सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो ।
४ नम्बर प्रदेशका मुख्य मन्त्री समेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति , संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए । त्यसलाई पार्टीले सहभागीतात्मक निर्णयलाई प्राथमिकतामा राख्न सदस्यहरुले नेतृत्वलाई सुझाव दिएको पनि उनले बताए ।
स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागीतालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए ।
अहिलेसम्म क–कसले राखे बैठकमा धारणा ?
शनिबारदेखि सुरु भएको बैठकमा हालसम्म ३४ जनाले आफ्नो धारणा राखेका छन् ।
जसमा सोमबार १०, मंगलबार, बुधबार र बिहिबार ८–८ जनाले धारणा राखेका छन् ।
अहिलेसम्म धारणा राख्नेहरुमा वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेत, केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमाल, देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेल रहेका छन् ।
यसअघि शनिबारको बैठकमा ओली र प्रचण्डले पनि प्रतिवेदन र सरकार सञ्चालनका विषयमा ब्रिफिङ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया