दानका भरमा बन्दैछ भूमिगत सङ्ग्रहालय

बलेवा । दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै छ करोडको लागतमा संरचना बन्दै छ ।

कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै भरमा निर्माण सम्पन्न हुने चरणमा छ । ऋषि प्रपन्नाचार्यको पहलमा निर्माण थालिएको शालिग्राम सङ्ग्राहलयको काम जोगीले कमण्डल थापेकै भरमा निर्माण भइरहेको छ ।

‘जोगीको कमाण्डल लिएर हिँडेपछि जति आउँछ, त्यसैका भरमा निर्माण गरिरहेका छौँ’, ऋषि प्रपन्नाचार्यले भने, ‘अन्य संरचना पनि चन्दाबाटै बनायौँ ।’ सङ्ग्रहालय निर्माणका लागि कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट सहयोग नपाएको उहाँको भनाइ छ । 

निर्माणाधीन भूमिगत शालिग्राम सङ्ग्राहलयमार्फत सिङ्गो कालीगण्डकी सभ्यता १०० मिटर लामो सुरुङभित्रै देखाउने तयारी छ । यहाँको मुक्तिनाथ वेद विद्याश्रम सञ्चालन भइरहेकै स्थानमा सुरुङ खनेर शालिग्रामको भूमिगत सङ्ग्राहलय निर्माणको काम भइरहेको हो । 

त्रिशूल आकारको सुरुङमार्ग झण्डै डेढ करोडको लागतमा खनिसकिएको छ । यहाँ एक लाख शालिग्राम व्यवस्थित रूपमा राख्न मिल्ने सङ्ग्राहलय बन्दैछ । पर्यटकको आकर्षणका लागि भूमिगत सङ्ग्राहलय निर्माण गरिएको भए पनि सो अभियानले सहयोग पाएको छैन । 

धर्ममा आस्था तथा नजिकैको विद्यालय र मन्दिरमा पुग्ने मनकारीको सहयोगकै भरमा काम धमाधम चलिरहेको छ । योजना पूरा भएमा मासिक एक लाख पर्यटक भित्र्याउन सकिने सङ्ग्राहलय व्यवस्थापन समितिका अध्यक्ष प्रपन्नाचार्यले बताए । 

भदौ १ गते गण्डकी प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्री विकास लम्सालले बजेट विनियोजनको आश्वासन दिएर सुरुङको शिलान्यास गरेका हुन् । शिलान्यास गरेर फर्किनुभएका मन्त्री लम्सालले अहिलेसम्म सहयोग नगरेको स्थानीयवासीको गुनासो छ ।

उक्त पूर्वाधार बनिसक्दा भारतीय पर्यटक बढी आउन सक्ने अध्यक्ष प्रपन्नाचार्यले बताए । नेपालीले कालीगण्डकी सभ्यताको विषयमा सिक्ने थलोका रूपमा विकास हुने र बाह्य पर्यटकका कारण देशकै अर्थतन्त्र बलियो बनाउन सकिने उनको तर्क छ ।

दानदाताकै भरमा सुरुङ निर्माण सकिएकाले अब भित्री भागमा पूर्वाधार निर्माण थालिने छ । सुरुङभित्रै धार्मिक पुस्तकालय, दामोदरकुण्डको योजना र धौलागिरि हिमालको आकृति पनि बन्नेछ । 

यहाँ भजनकीर्तनका लागि आउने बागलुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झण्डै एक करोड खर्चेर सभाहल तथा गरुडशिलासमेत बनाइरहनुभएको छ भने मन्दिरलगायतका अन्य संरचना पनि बन्दैछन् । ‘सबैको स्रोत दान नै हो,’ राजभण्डारीले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?