उमेर नपुगी विवाह गर्दा विद्यालय छाड्न बाध्य छात्रा

काठमाडौं । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ ।

अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । 

सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो औंल्याएको हो । विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताइन् । 

‘यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,’ उनले भनिन् । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ । 

अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका ६ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरिएको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गरे ।

यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरिएको थियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड्ने गरेको प्रतिवेदनमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?