काठमाडौं । काठमाडौँको न्यूनतम तापक्रम आज बढेर ७ डिग्रीमा पुगेको छ । जल तथा मौसम पूवार्नुमान महाशाखाका अनुसार सोमबार २.५ डिग्रीमा झरेको न्यूनतम तापक्रम आज भने बढेर ७ डिग्री पुगेको हो ।
सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.४ डिग्री मापन भएको थियो । आजको अधिकतम तापक्रम भने १५देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
आज पूर्वी र मध्य क्षेत्रमा पूर्ण बदली रहने र पश्चिमि भूभागमा आंशिक बदलीको सम्भावना रहेको पूवार्नुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार पूर्वी क्षेत्रमा रातीदेखि हल्का वर्षा भइरहेको छ ।
न्यूनतम तापक्रम बढेर ७ डिग्री पुग्यो तर जाडो नघट्ने
बंगालको खाडीको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’को प्रभावले नेपालमा मौसम बदली भएको हो । मौसममा आएको बदलीसँगै काठमाडौंसहित देशभर चिसो बढेको छ ।
अधिकतम र न्यूनतम तापक्रमको दूरी घटेमा चिसो बढी महसुस हुने गर्दछ । न्यूनतम तापक्रम बढे पनि दिनभर घाम नलाग्ने भएकोले चिसो भने नघट्ने मौसमविद श्रेष्ठले बताए ।
‘आजको तापक्रम केहि बढेको देखिएको छ यो घटबढ भईरहन्छ ।’ मौसमविद् श्रेष्ठले भने, ‘ख्याल गर्न आवश्यक छ, जाडो तत्काल घट्ने कुनै सम्भावना छैन ।’
चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ल्याण्डफल भएको छ । श्रेष्ठका अनुसार समुद्री आँधीले जमिनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया