निर्ममतापूर्वक हत्या गरिएको २१ वर्षसम्म पनि मुक्तिनाथले पाएनन् न्याय

लोकपथ
455
Shares

काठमाडौं । मुक्तिनाथ अधिकारी माओवादी सशस्त्र हिंसामा मच्चाइएको हत्या दुन्दूभीको एउटा कहालीलाग्दो सत्य । जसलाई कक्षा कोठामा कलिला नानीहरुलाई पढाउँदै गर्दा जबरजस्त अपहरण गरी विद्यालयभन्दा केही माथि लगेर झुण्ड्याएर गोली हानी हत्या गरिएको थियो ।

आज माओवादी उनै मुक्तिनाथ अधिकारीहरु जस्ता निर्दोषहरुलाई मारिएको रगतबाट बनेको पहाडमा उभिएर लगातार सत्ता र शक्तिको भोगमा लिप्त छ । तर अधिकारी जस्तै गरी अनाहकमा मारिएका सत्रौं हजार नागरिकले दशकौंदशकसम्म पनि न्याय पाएका छैनन् ।

अधिकारीलाई २१ वर्षअघि आजकै दिन २०५८ माघ ३ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चन्दा नदिएको आरोपमा लमजुङमा अधिकारीको निर्ममतापूर्वक हत्या गरेका थिए ।

माओवादीले कक्षा कोठाबाट आँखामा पट्टी बाँधेर अपहरण गरी नजिकैको थुम्कोमा लगेर रूखमा बाँधी छुरा रोप्दै टाउकोमा गोली प्रहार गरेर अधिकारीको हत्या गरेका थिए । उनी दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक एवं लमजुङस्थित एम्नेस्टी इन्टरनेसनल नेपालको स्थानीय समूहका संयोजकसमेत थिए ।

२०६३ साल मङ्सिर ५ मा विस्तृत शान्ति प्रक्रिया शुरू भएयता नेपालमा चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका छन् । सरकार त १५ वटा बनिसके । तर अहिलेसम्म मुक्तिनाथ अधिकारीले न्याय पाएका छैनन् । सत्य र न्यायको कुनै पनि सङ्केतबिना स्वर्गीय मुक्तिनाथ अधिकारीका परिवारका सदस्य र आफन्तले हत्याको २१ वर्ष कटाउन बाध्य भएका छन् ।

२१ वर्षको यस अवधिमा अधिकारी परिवारले न्यायका लागि नेपालमा उपलब्ध सबै ढोका ढक्ढक्याए । तर परिणाम हात पार्न सकेनन् । नियमित न्यायिक संयन्त्रका रूपमा रहेको प्रहरी प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग र संक्रमणकालीन न्याय निरुपणका लागि गठित संयन्त्र सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गरिएको उजुरीहरूमाथि कुनै कारबाही नहुँदा परिवारका सदस्यलाई पीडा भएको छ ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग (सत्य आयोग) र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (बेपत्ता आयोग) सम्बन्धी कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सात वर्षसम्म बेवास्ता गरिनु र यी आयोगमा दुई दुई पटक आयुक्तहरू नियुक्त भई ६ वर्षभन्दा बढी समय गुजार्दा समेत एउटा पनि घटनामा सत्य र न्याय निरूपण नहुनु साह्रै खेदजनक छ,’ अधिकारीका छोरा सुमन अधिकारी भन्छन् । ‘पीडितहरू वर्षौंसम्म पनि सत्य, न्याय र परिपूरणबिना तड्पिरहनु लाजमर्दो कुरा हो,’ सुमनले थपे ।

फरक विचार व्यक्त गर्ने तर कुरै नगरौँ स्वतन्त्र रूपमा बोल्न समेत कठिन त्यस समयमा मुक्तिनाथ अधिकारी अन्याय र हिंसाका विरुद्ध खडा भएका थिए । उनले आफ्ना विद्यार्थीको मस्तिष्कमा मानवअधिकारका मूल्यहरूलाई जगाउने काम समेत गरेका थिए ।

‘स्वर्गीय अधिकारी नेपालको एम्नेस्टी अभियान (मानवअधिकार) का एक सक्रिय र महत्वपूर्ण सदस्य थिए । हामी उनको हत्याको भत्सर्ना मात्र नगरी उनको हत्यालाई मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कर्ममाथि भएको एउटा निर्मम र घृणित आक्रमणको रूप लिइरहनेछौँ,’ एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘आजभन्दा २१ वर्षअघि स्वर्गीय अधिकारीको निर्मम हत्यामा शोक व्यक्त गरिरहँदा कुनै पनि खाले हिंसा र अन्यायविरुद्ध खडा भएर आवाज उठाउने हाम्रो सङ्कल्प झन् बढी दृढ भएको छ ।’

मुक्तिनाथ अधिकारीको निर्मम हत्या द्वन्द्वका क्रममा राज्य र विद्रोही समूह दुवै पक्षले गरेका हजारौं मानवअधिकार उल्लङ्घनका घटनामध्येको एक प्रतिनिधिमूलक घटना हो । द्वन्द्व अन्त्य भएको १७ वर्ष बितिसक्दा पनि अलपत्र परेको सत्य, न्याय र परिपूरणको मुद्दाको शीघ्र समाधानका लागि पीडित र अधिकारकर्मीहरूले लामो समयदेखि निरन्तर आह्वान गर्दै आएका छन् ।

उनै मुक्तिनाथ अधिकारीको हत्या भएको २१ औँ वार्षिक स्मृति दिवसमा मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले काठमाडौंमा एक कार्यक्रम पनि गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?