काठमाडौं । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुट्न नेपाल विद्यार्थी संघले निर्देशन दिएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै देशभरका नेविसंघमा आवद्ध विद्यार्थी र क्याम्पस मातहतका कमिटीलाई निर्देशन दिएको हो ।
‘चैत ५ गते हुने स्ववियु निर्वाचन निर्धातिर समयमै सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन चाहान्छु, साथै स्ववियु निर्वाचनका लािग सम्पूर्ण रुपमा तयार रहन देशभरका नेविसंघका साथीहरुलाई अनुरोध गर्दछु । ’जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेविसंघले स्ववियु निर्वाचनको तयारी स्वरुप समिति र उपसमिति समेत गठन गरेको छ । नेविसंघले पुजन गन्धर्वको नेतृत्वमा घोषणापत्र तयार समिति र डा. सन्तोष उपाध्यायको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।
लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक मुद्दाहरु ओझेलमा परेको भन्दै चैत ५ गतेका लागि तोकिएको निर्वाचन गर्नुपर्नेमा आफूहरु प्रतिबद्ध रहेको अध्यक्ष शेर्पाले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया