काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समग्र मुलुकको परिस्थितिको मूल्यांकन गरेर आफूहरूले विशिष्ट निर्णय लिएको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरेपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले विसं २०५१ मा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको सन्दर्भ जोड्दै अहिले पनि त्यस्तै विशिष्ट निर्णय लिएको जानकारी दिए ।
उनले सरकार जोगिने वा नजोगिनेभन्दा पनि मुलुकको आर्थिक अवस्था, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूर्णता दिनेलगायतका विषय निर्वाचनको समयमा समेत आफूहरूले गरेको गरेकाले त्यसलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सहयोग गरेको स्पष्ट पारे ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सदनमा आफूहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्रीलाई विश्वासको मत किन दिने भन्नेबारेमा सभापति शेरबहादुर देउवाले नै स्पष्ट पारेको उनको भनाइ छ ।
यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएको प्रतिक्रिया दिए ।
उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि पनि सरकारलाई समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको तथा आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया