काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे ।
आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।
प्रधानमन्त्री दाहालले संसदमा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।’ प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।
धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया