काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताए । ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो’, उनले भनिन् ।
सत्ता साझेदार मात्र नभई प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उनले सिङ्गो संसद्बाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरिन् । ‘प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ’, उनले भनिन्, ‘मुलुकका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको जनताले आभाष गर्न पाउनेछन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरु राजनीतिमा आएको जनाउँदै उनले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाइन् । सामाजिक न्यायसहितको सुशासन प्रवर्द्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उनले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया