Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

लोकपथ २५ पुस २०७९, सोमबार १०:२८
गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै
शेयर गर्नुहोस् Facebook

काठमाडौं । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताए ।

“बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तम्तयार अवस्थामा छौँ”, उनले भने, “अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ, विश्वासको मत लिने बेलासम्म सङ्ख्या अझ बढ्न सक्छ ।” प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा (माओवादी केन्द्र) को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित भएका थिए । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए।

दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मिएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए ।

विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बिताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि शुरु भएको थियो ।

उनी पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुन् । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुन् । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उनले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।