बागमतीमा बहादुर कि बानियाँ ? : निर्णायक कोइराला पक्ष

निर्वाचनको परिणाम आएसँगै केन्द्रदेखि प्रदेशसम्म राजनीतिक दलहरु यतिबेला सत्ता निर्माण खेलको दौडधूपमा छन् । केन्द्रमा गठबन्धन आवद्ध दल र नेकपा एमालेसँग रहेका अर्को धुरीका दलहरु आ–आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन् ।

संघमा सरकार बनाउन प्रतिनिधि सभामा चाहिने १३८ को गणित नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई थोरै नपुग्दा एमाले त्यहीबीचमा आफ्नो पक्षमा संख्या जुटाउने खेलमा छ ।

उता, प्रदेशहरुमा पनि दलहरु त्यही खेतीमा जुटेका छन् । प्रदेश सभामा धेरै सिट पाएका दलहरु आ–आफ्नो नेतृत्वको सरकारका लागि गृहकार्यमा छन् । यही गृहकार्यमा जुटेको छ, बाग्मती प्रदेश पनि । १३ जिल्ला मिलेर बनेको बाग्मती प्रदेशमा सरकार गठन र नेतृत्वका लागि आकांक्षीहरुको नाम बाहिरिँदै छ ।

सबैभन्दा धेरै सिट जितेको नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षीहरु सरकारको नेतृत्वका लागि प्रचारसहित तयारीमा लागेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीको लागि हालसम्म दुई जनाले दाबी गरेका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य बहादुरसिंह लामा र कांग्रेस प्रदेशका सभापति रहेका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले दाबी गरेका हुन् ।

लामा नुवाकोट क्षेत्र क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । अर्का आकांक्षी बानियाँले भने मकवानपुर क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि पुस १३ गते कांग्रेस बाग्मती प्रदेश समितिले संसदीय दलको नेता चुन्न निर्वाचन गर्दैछ ।

दुबै नेता सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । दुई नेतालाई सहमति गराउन गरिएको लामो कसरतले काम नगरेपछि आमने सामने प्रतिष्पर्धामा ओर्लिएका हुन् ।

संसदीय दलको नेता हुँदै मुुख्यमन्त्री बन्ने दौडमा रहेका दुबैले सरकारको नेतृत्वका लागि आ–आफ्ना एजेण्डा अघि सारेका छन् । केन्द्रमा समेत बसेर काम गरिसकेका कारण आफूहरुले प्रदेशको नेतृत्व गर्नसक्ने भन्दै उनीहरु चुनावी मैदानमा होमिएका छन् ।

यसै परिप्रेक्षमा लोकपथले मुख्यमन्त्रीका आकांक्षी लामा र बानियाँलाई तपाईँको उम्मेदवारी के का लागि भन्ने प्रश्न गरेको छ । यस्तो छ नेताहरुको तर्क :

बहादुरसिंह लामा

म मुख्यमन्त्रीको तयारीमा छु । पुष १३ गते प्रदेश संसदीय दलको चुनाव हुँदैछ । म संसदीय दलको नेता हुनका लागि हरेक दृष्टिले योग्य छु जस्तो लाग्छ । संघमा दुई–दुई पटक प्रतिनिधित्व गरिसकेको साथै पार्टीमा २–२ पटक केन्द्रीय सदस्यको भूमिकासहित वरिष्ठताको हिसावले पनि मेरो दाबेदारी स्वभाविक हो ।

मेरो मुख्य ध्येय प्रदेशको औचित्य पुष्टि गर्नुमा हुन्छ । त्यसको साथै प्रदेशलाई नमूना बनाउनेतिर लाग्ने योजनाका साथ अघि आएको हुँ । अहिले नागरिकमा प्रदेशप्रति नकारात्मक धारणा रहेको छ । त्यसको कारण पनि आम नागरिकमा प्रदेश चाहिने रहेछ भन्ने बनाउनुछ । सम्पूर्ण अधिकार दिइए पनि काम हुन सकिरहेको छैन ।

अझै भनौं केन्द्रिकृत व्यवस्था जस्तो हुँदा प्रदेशको औचित्यमाथि प्रश्न उठेको छ । अबको नेतृत्वले त्यसलाई चिर्दैै आम नागरिकलाई उत्पादनसँग जोड्नुपर्ने छ । प्रदेशको विकासका गर्न ‘मास्टरप्लान’ बनाएर अहिले भइरहेको भन्दा फरक किसिमको काम गर्नुपर्नेछ । विकास निर्माणको सवालमा कुन संरचना प्रदेश र कुन संरचना केन्द्रले हेर्ने भन्ने छुट्टयाएर हेर्नुपर्ने देखिन्छ ।

त्यसो हुन नसक्दा विकास हुन सकिरहेको छैन । अबको नेतृत्वले सो काम गर्नुपर्ने आवश्यकता महसुस गरेको छु । बाग्मतीमा जनजातिको बाहुल्यता रहेका कारण मेरो उम्मेदवारीले उहाँहरुको प्रतिनिधित्व समेत हुनेछ । त्यतिमात्र नभएर संविधान र कानुनको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्छु ।

त्यसैगरी अहिले भ्रष्टाचारले समाजमा जरो गाडेको छ । त्यसलाई निर्मूल पार्दै प्रदेशले चाहेमा विकास गर्न सक्ने रहेछ भन्ने पुष्टि गर्नुपर्नेछ । विगतमा संघीय सांसद हुँदा काम गरेको थुप्रै अनुभवहरु छन् । संघीय सांसदको रुपमा धेरै विकास निर्माणको काम गरेको छु । शिक्षा, स्वास्थ्यलगायत जनअपेक्षाका क्षेत्रहरु नै मुख्य एजेण्डा हो ।

शिक्षालाई कसरी सुधार गर्ने ? कसरी भौतिक संरचना निर्माण गर्ने ? देशभर हेर्ने हो भने सामुदायिक विद्यालयको खस्कँदो अवस्था छ । त्यसलाई बलियो बनाएर लैजानुपर्ने देखिन्छ । सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसारको परिणाम आइरहेको छैन ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि व्यापक सुधार गर्दै नयाँ स्वास्थ्य मोडलसहित अघि बढाउने एजेण्डा प्रमुख हुनेछ । अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने ‘इन्टर करप्सन’ लाई पूर्ण रुपमा निस्तेज पार्नुपर्ने देखिन्छ । मेरो पूर्व अनुभवको आधारमा पनि कुन कुन क्षेत्रमा कमजोरी रहेको छ, त्यो मलाई थाहा छ ।

अनुसन्धानको क्षेत्रलाई बढी प्राथमिकता दिने योजनासहित अघि आएको छु । अर्को कुरा शिक्षा, स्वास्थ्य मात्र नभएर कृषि क्षेत्रको विकासका लागि पनि राम्रोसँग काम गर्नुपर्ने छ । हाम्रा आम्दानीका स्रोतहरु के के हुन सक्छन् ? भन्ने पहिचान गरेर त्यही अनुसार काम गर्नुपर्नेछ । सिजनमा किसानहरुले मल नपाएको कुरा हामीले देखेका छौँ ।

त्यसको निराकरणको लागि सबैको सामूहिक प्रयास गर्नुपर्ने देखिन्छ । यी यावत विषयलाई प्रमुखकताका साथ उठाएर केन्द्रभन्दा पनि प्रदेश चाहिँदो रहेछ भन्ने कुरालाई कामकै आधारमा देखाउने खाका तयार पारेको छु ।

प्रदेशमै रोजगारी सिर्जना गर्नेदेखि काठमाडौं जस्तो सुगम र दुर्गम गाउँहरुको विकासका लागि छुट्टाछुट्टै योजनाका साथ काम गर्नुपर्छ । संघमा बसेर काम गर्दा पनि मैले आफ्नो तलब भत्तामा थपेर सहयोग पु¥याएको छु । म प्रदेश सरकारको नेतृत्वमा आउँदै गर्दा गलत मान्छेले नेतृत्वमा ल्याइएछ भन्ने भान नहुनेगरी काम गर्नेछु ।

इन्द्र बानियाँ

कांग्रेसको पद्धति अनुसार संसदीय दलको निर्वाचनमार्फत प्रदेशमा दलको नेतृत्व चयन हुँदैछ । प्रदेशमा गठबन्धनको पनि कुरा छ । त्यसकारण प्रदेशको मात्रैभन्दा पनि केन्द्रको परामर्श अनुसार कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको छ ।

यसअघि प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यसको दाबेदार म भए पनि मैले त्यसबेला पदभन्दा पनि पद्धतिलाई प्राथमिकता दिएँ । पद्धति जोगाउँदै प्रदेशमा अहिलेको निर्वाचनसम्म आउनु थियो ।

अहिले पनि हामी गठबन्धनमा भएकाले कुन प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगिनुपर्छ । बाग्मती प्रदेश नेपाली कांग्रेसको भागमा पर्दैगर्दा त्यसको दाबेदार म हुनु स्वाभाविक हो । त्यसका लागि केही एजेण्डा प्रमुखताका साथ उठाउनुपर्ने देखिन्छ ।

हामीले यसअघि नै बागमती प्रदेशको मार्गचित्र भनेर विभिन्न एजेण्डा ल्याएका छौँ । नेपाली कांग्रेस बाग्मती प्रदेशले पनि त्यसलाई आफ्नो एजेण्डा बनाएको छ । मेरो भागमा मुख्यमन्त्रीको जिम्मेवारी आएमा न्यायमुखी, सेवामुखी, गरीबमुखी र आयमुखी कसरी बनाउन सकिन्छ भनेर लाग्नेछु । गरिब लक्षित काम गर्नुपर्ने देखिन्छ ।

१३ वटा जिल्लालाई चक्रपथ बनाउनुपर्नेछ । हेटौँडा राजधानीलाई त्यस अनुसार विकास गर्नुपर्नेछ । गरीबीको रेखामुनी रहेका विद्यार्थीलाई प्लस टूसम्म प्रदेश सरकारले निःशुल्क व्यवस्था गर्नुपर्नेछ । हाम्रो ११९ पालिकाबाट विपन्नतामा परेकाहरुलाई स्वास्थ्य बीमा बापत ३५ सय दिँइँदै आएको छ । त्यसलाई निःशुल्क गर्नु पर्नेछ ।

हरेक पालिकामा भोजनसहितको जेष्ठ नागरिक आवास, प्रदेशभित्रको धार्मिक सांस्कृतिक, आध्यात्मिक तथा पर्यटकीय स्थलको विकासका लागि हामी काम गर्छौँ । पूर्वाधार विकास, विपन्न लक्षित र गाउँ लक्षित काम गर्नुपर्छ । विपन्नलाई आयसँग कसरी जोड्ने ? गरीबलाई न्याय कसरी दिने ? सेवा कसरी दिने ? लगायतका विषयमा काम गर्ने योजना छ ।

भूगोल अनुसारको कृषि उपज उत्पादनको काम दिने योजना बनाएर अघि बढ्ने मेरो लक्ष्य छ । प्रदेशलाई कसरी चुस्त दुरुस्त बनाउने भन्ने बहस भइरहेको छ । संघीयता भनेको देशपछिको प्रदेश हो । मान्छेले यसलाई बोझिलो ठानेका छन् । प्रदेश भनेको जनताको नजिकको सरकार हो ।

हिजोको दिनमा पनि पाँच विकास क्षेत्र र १४ अञ्चल थियो । अहिले संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको छ । हिजो पनि प्रशासनिक संयन्त्रमा खर्च भएको थियो । हिजोको प्रशासनिक संयन्त्रले निर्णय दिन सकेन, केन्द्रले खटाएको काम गर्ने मात्र थियो । तर अहिले भने प्रदेश आफैँले काम गर्न सक्छ । आफैँ निर्णय गर्न सक्छ ।

त्यसकारण अहिलेको कामलाई चुस्त बनाउँदै अझै समानुपातिक प्रतिनिधित्वलाई थप व्यवस्थित बनाउँदै लग्न सकिन्छ । समानुपातिक भन्दा पनि समावेशी बनाएर लैजान सकिन्छ । जसको कारण प्रदेशको औचित्य समेत पुष्टि हुने देखिन्छ ।

कसको विगत कस्तो ?

मुख्यमन्त्रीको आकांक्षीको रुपमा रहेका लामा यसअघि दुई पटक संघीय सांसद बनिसकेका छन् । लामा २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसैगरी ०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए ।

हालैसम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने चर्चा चलेको थियो । यद्यपि, उनी प्रदेशमा चुनाव लड्दै जित हासिल गरेका हुन् । हाल उनी कांग्रेसको केन्द्रीय सदस्यको रुपमा रहेका छन् । यता अर्का आकांक्षी बानियाँ हाल बाग्मती कांग्रेसका सभापति हुन् ।

२०७० को संविधान सभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनी २०७४ मा मकवानपुर संघीय क्षेत्र २ को (ख) बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उनले सम्हालेका थिए ।

गत निर्वाचनमा पनि उनी मकवानपुर क्षेत्र नं २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका हुन् । केन्द्रमा संस्थापन पक्षनिकट रहेका हुँदा प्रदेशमा को संसदीय दलको नेता बन्ने भन्ने निर्णायक भने संस्थापन इतर पक्षमा रहेका सांसदहरु हुने भएका छन् । शेखर कोइराला–गगन थापा पक्षबाट अहिलेसम्म कोही पनि प्रतिष्पर्धामा नदेखिएकाले उनीहरु पक्षका सांसदहरुले जसलाई सघाउँछन् उसैको पल्ला भारी हुने निश्चित छ ।

कुन दलको अंक कति ?

बाग्मती प्रदेशमा नेपाली कांग्रेस पहिलो दल हो हो । बाग्मतीमा प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी कुल ११० सिट छ । जसमा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ सिटसहित ३७ सिट ल्याउँदै पहिलो दल बनेको छ । सिट संख्याको आधारमा पहिलो र अन्य गठबन्धन दलको समेत साथ रहने भएसँगै कांग्रेसले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

त्यस्तै प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी कुल २७ सिट प्राप्त गर्दै एमाले दोस्रो दल बनेको छ । यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिटसहित तेस्रो दल बनेको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ सिट गरी कुल १३ सिटसहित चौंथो स्थानमा छ ।

गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट ल्याएको छ । त्यस्तै नेपाल किसान मजदुर पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी कुल ३ सिट प्राप्त गरेको छ । त्यसैगरी नयाँ दल हाम्रो नेपाली दलले २ सिट जितेको छ । उसले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?