आज विश्व सहनशीलता दिवस । प्रत्येक वर्ष नोभेम्बर १६ मा मानव अधिकार, सामाजिक सद्भाव र सहिष्णुतालाई ‘सेलिब्रेट’ गर्दै ‘विश्व सहनशीलता दिवस’ मनाइन्छ ।
हरेक २ वर्षमा युनेस्कोले मानव अधिकार, सहिष्णुता र समावेशिताको उत्थानमा लागेका व्यक्तित्व र संस्थालाई ‘यूनेस्को मदनजीत सिंह’ पुरस्कारले पुरस्कृत गर्दै यो दिवस मनाउँदै आएको छ ।
जस अन्तर्गत यस वर्षको ‘यूनेस्को मदनजीत सिंह’ पुरस्कार क्यानाडाकी सामाजिक उद्यमी तथा फिल्म मेकर ‘म्यानन बार्बिउ’ र केन्याको सामाजिक संस्था ‘दि कोएक्जिस्ट इनिसिएटिभ’ ले पाउने भएका छन् । विजेतालाई पुरस्कार स्वरुप ५० हजार बराबरको अमेरिकी डलर्स प्रदान गरिनेछ ।
म्यानन बार्बिउले चलचित्र र आफ्नोसंस्था वापिकोनी मोबाइल स्टुडियोले सञ्चालन गर्ने विविध क्रियाकलाप मार्फत समाजमा सहिष्णुता र मानव अधिकारको विषयमा वकालत गर्दै आएकी थिइन् । उनको संस्थाले शैक्षिक कार्यशाला र चलचित्र स्क्रिनिङ मार्फत विशेषतःआदिवासी र सिमान्तकृत वर्गका मानिसमा उनीहरुको संस्कार र संस्कृति, भाषा, परिचय सम्बन्धि जनचेतना फैलाउदै आएको छ । पिछडिएका वर्गका युवाहरुलाई ‘डिजिटल’ दुनियासँग साक्षात्कार गराएर म्युजिक भिडियो, लघु चलचित्र बनाउन उत्प्रेरित गर्दै आएको उनको संस्थाले धेरै ‘सिमान्तकृत’ व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ ।
त्यसैगरी, ‘दि कोएक्जिस्ट इनिसिएटिभ’ संस्थाले मानव अधिकार, सामाजिक न्याय र लैङ्गिक समानताको वकालत गरेकाले सो पुरस्कार प्राप्त गरेको हो । संस्था विशेषतः महिलाको हक अधिकार सुनिश्चित गर्दै समाजमा समानता कायम गर्न कार्यरत छ । महिला सशक्तिकरणलाई उजागर गर्न पुरुषलाई पनि संलग्न गर्दै आएको यो संस्थाले वर्षौंदेखि महिलालाई लिएरकायम रहेको पुरातनवादी सोच र पक्षपाती संस्कारका विरुद्ध आवाज उठाउनमा विशेष जोड दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया