विरोधी विभाजित हुँदा चम्किए प्रकाशमान

लोकपथ
195
Shares

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उम्मेदवार रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै सिंह विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार सिंहले ७ हजार १४३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७ हजार ११ मत मात्र पाउन सफल भए । यसअघि २०७४ सालको निार्वचनमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच नै प्रतिस्पर्धा भएको थियो । त्यति बेला पनि मिश्र ८१९ मतले पराजित भएका थिए ।

अघिल्लो चुनावमा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपालि भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका थिए । यसपटक जसरी पनि सिंहलाई हराउँछु भन्दै लागेका मिश्रलाई जीतका लागि फेरि पनि १३२ मत पुगेन । र काठमाडौं–१ बाट सांसद बन्ने अवसर सिंहले पाए ।

निर्वाचन शुरु भएदेखि नै धेरैको चासोको क्षेत्र बनेको काठमाडौं १ मा मतगणना थालेदेखि नै सिंंह र मिश्रबीच झिनो मतले अगाडी पछाडी हुने खेल चलिरहेको थियो । तर अन्तिममा सिंहले बाजी मारेका हुन् । २७ हजार १० मत खसेको यस क्षेत्रमा २११५ मत बदर भएको थियो ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११२ मत ल्याउँदा चौथो स्थानमा रहेका नेकपा एमालेका किरण पौडेलले जम्मा ३ हजार ५०८ मत पाए । नेपाल सुशासन पार्टीका रमेश खरेलले भने ३ हजार १२१ मत पाएका थिए ।

यसैबीच, मौका पाउँदा प्रधानमन्त्री बन्ने सपना साँचेका सिंहले संसदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरुसँग मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने भन्दै नागरिकका गुनासा र सुझाव लिने र सुन्ने बताए । खानेपानीको समस्या समाधान गर्ने, मेलम्चीको पानी छिटो ल्याउन प्रयास गर्ने, काठमाडौँका नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउने र प्रदूषण नियन्त्रण गरिने बताए । प्रस्ताव आएमा प्रधानमन्त्री बन्न पछि नहट्ने भन्दै उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको जिकीर पनि गरे ।

२०४८ सालमा भएको निर्वाचनमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धा गर्दा एमालेका उम्मेदवार सहाना प्रधानसँग पराजीत सिंह, २०५१ सालको मध्यावधि निर्वाचनमा भने काठमाडौंको क्षेत्र नम्बर ३ बाट एमालेका अध्यक्ष मनमोहन अधिकारीसँग फेरि पराजीत भए । चुनाव हारेपछि राष्ट्रिय सभा सदस्य बनेका उनी २०५३ भदौं १२ मा संसद पुनस्र्थापना भएपछि पहिलो पटक वातावरण मन्त्री बनेका थिए ।

त्यसयता पटक पटक विभिन्न मन्त्रालय सम्हालेका उनी पहिलो पटक हालको काठमाडौं क्षेत्र नम्बर १ बाट २०६४ सालमा संविधानसभामा निर्वाचित भएका हुन् । त्यसयता २०७०, २०७४ मा भएका निर्वाचनमा पनि उनी लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका सिंहले कांग्रेसको उपसभापतिदेखि महामन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । सर्वमान्य नेता गणेशमान सिंह र मंगलादेवी सिंहका छोरा उनले कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिष्पर्धामा तेस्रो बनेका उनले दोहो-याएर भएको मतदानमा भने शेरबहादुर देउवालाई सघाएका थिए । जसका कारण देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा चुनिन सफल भए । सिंहको यो निर्णय पूर्वसहमति विपरित भएको भन्दै आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?