पण्डित’बाको रिक्सा

बारा– बाराको सिमरा आसपासमा करिब ११० रिक्सा चल्छन् । रिक्साका भीडमा सधैंजसो भेटिन्छन्, पण्डित’बा ।
असली नाम प्रेमचन्द्र लम्साल । उमेर ६२ वर्ष । निधारमा सेतो चन्दनको टीका र पहेंलो वस्त्रमा चालकहरूको लाममा ग्राहक खोज्न उनलाई उति गाह्रो छैन ।
२०४२ सालमा राजधानीबाट बारामा बसाइँ सरेका लम्सालको औपचारिक शिक्षा ३ कक्षा मात्र हो । १३ वर्षको उमेरमा गुरुकुलमा बसेर ६ महिना कर्मकाण्ड ज्ञान नै उनको रिक्सासँगै जीवन निर्वाहको अर्को शिक्षा हो ।

१६ वर्षकै उमेरमा २०३० सालतिर नेपाल प्रहरीमा जागिरे भए । सिपाहीबाट हवल्दारसम्म भएर उनले ३८ सालमा जागिर छाडे । आठ वर्ष प्रहरीमा जागिर खाएका लम्साल प्रहरी जागिरबाट बिरक्तिएर भारततिर लागे । भन्छन्, ‘प्रहरी सेवामा टिक्न सकिएन, आठ वर्ष काम गरेर हवल्दासम्म भएको थिएँ ।’
२५ वर्षको उमेरमा श्रमका लागि भारत गएका लम्सालले आफ्नो जीवनको महŒवपूर्ण १३ वर्षसम्म उतै सेक्युरिटी गार्डमा बिताए । पछि जागिर छाडेर नेपाल फर्किएका उनले आफ्नो परिवारलाई राजधानीबाट बाराको कोल्हबी बसाइँ सारेर ल्याए ।

छोराहरू कमाउने भइसकेका थिएनन् । दुई छाकको जोहोका लागि उनले गाउँमै किराना पसलदेखि हार्डवेयर पसलसम्म चलाए । यहाँ पनि उनले आफूलाई टिकाउन सकेनन् र २०५७ सालतिर बारा कोल्हबीबाट बसाइँ सरेर औराहा आइपुगे ।
पछि उनी औराहको एक प्रसिद्ध कृष्ण प्रणामी मन्दिरको पुजारी भए । १३ वर्षको उमेरमा गुरुकुलमा बसेर अध्ययन गरेको शिक्षालाई उनले जीवनको अर्धशतकपछि प्रयोगमा ल्याउने अवसर पाए ।
मन्दिरको पुजारी भएदेखि उनी पण्डित’बा नामले चिनिन्छन् । सात वर्ष पुजारी भएर सेवा गरेका लम्सालले एक वर्षयता रिक्सा चलाउन थालेका छन् । आजको राजधानी दैनिकले विस्तृतमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?