मतदाताको प्रतिक्षामा मतदान केन्द्रहरु !

लोकपथ
26
Shares

खोटाङ । खोटाङमा निर्वाचनको तयारी पुरा भएको छ । एक वटा प्रतिनिधिसभा सदस्य र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका १ सय ३६ मतदान स्थल, १ सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा मतदानको तयारी पुरा भएको हो ।

निर्वाचन सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले शनिवार साँझसम्ममा सबै मतदान केन्द्र तयार पारेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिएको छ ।

‘जिल्लामा पूर्णरुपमा मतदानको तयारी भएको छ । सबै मतदानस्थलमा मतदान केन्द्र तयार भइसकेको छ,’ सहायक निर्वाचन अधिकृत यादवले भने, ‘आइतवार बिहान ७ बजेको पर्खाइमा छौँ । मत हाल्ने मतदाता आउन मात्र बाँकी छ ।’

मतदानस्थलमा महिला, पुरुष र अशक्त मतदाता उभिने घेराबारा, नामावली भिडाउने ठाउँ, मतदान प्रतिनिधि बस्ने ठाउँ, तथ्यांक फारम भर्ने र नङमा मसी लगाउने ठाउँ, मतपत्र लिने ठाउँ, गोप्य मत संकेत गर्ने गाउँ, मत पेटिका राख्नेलगायतका संरचना तयार पारिएको छ । यस्तै, अपांगता भएका, गर्भवती एवम् सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक वा बिरामी, लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाता उभिने अलग्गै ठाउँ बनाइएको छ ।

निर्वाचनका लागि एक हजार ५ सय ५८ कर्मचारी र एक हजार ८ सय ५० नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । यस्तै, नेपाली सेना र शसस्त्र प्रहरी पनि खटाइएको छ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए ।

निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७ सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मत गणनास्थल पनि तयार :-

मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणनास्थल पनि तयार पारेको छ । जिल्ला अदालतका तीन ठाउँमा मतगणना स्थल तयार पारिएको सहायक निर्वाचन अधिकृत यादवले बताए । मत पेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि दुई वटा संकलन केन्द्र निर्धारण गरेर सवारी साधनमार्फत मत पेटिका ल्याउने तयारी गरिएको छ । जिल्लामा ७ सय ७८ वटा मत पेटिकाको प्रयोगमा ल्याइएको छ ।

निर्वाचनमा स्वतन्त्रसहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?