ईफाप्काको अध्यक्षमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चयन

लोकपथ
65
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चयन भएका छन् । माल्दिभ्स्को राजधानी मालेमा शुक्रवार सम्पन्न ईफाप्काको ४५ औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो ।

ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । वणानुक्रम अनुसार (ईफाप्का) का सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए ।

मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षकोरुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका छन् । अध्यक्ष सिंहसहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । सपथपछिको कार्यक्रमलार्ई सम्बोधन गर्दै सिंहले ईफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

ईफाप्काका नयाँ महासचिव इन्जिनियर विरेन्द्रराज पाण्डेले ४६ औँ ईफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना गरिने जानकारी दिए । सोही अवसरमा पाँचौ पटक ईफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा महासंघ अध्यक्ष रवि सिंहसहित निर्माण व्यवसायीहरू शिव चौलागाई, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका छन् । यसैबीच ईफाप्काका नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रवार बसेको पहिलो बोर्ड बैठकले ईफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६ औँ ईफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । ईफाप्कामा हाल एशिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?