क्यालिफोर्नियामा आयोजित राहदानी कन्सुलर सेवा शिविरबाट १५ सय बढी नेपाली लाभान्वित

लोकपथ
133
Shares

क्यालिफोर्निया । अमेरिकास्थित नेपाली राजदूतावास, वासिङटन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा सञ्चालन गरिएको राहदानी तथा कन्सुलर सेवा शिविरबाट १,५१५ जना नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

दूतावासका अनुसार, उक्त शिविरमार्फत १,५०६ जनाले राहदानी सेवा पाएका छन् भने ९ जनाले अधिकृत वारेशनामा ९एयधभच या ब्ततयचलभथ० सेवा प्राप्त गरेका छन् ।

प्रारम्भमा पाँच दिनसम्म मात्र सञ्चालन गर्ने भनिएको शिविर सेवाग्राहीको चाप अत्यधिक बढेपछि तीन दिन थप गरिएको थियो ।

नेपाली समुदायको सक्रिय सहभागिता

उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्नियाका विभिन्न शहरहरूमा बसोबास गर्ने नेपाली समुदायका साथै अरू राज्यहरूबाट पनि नेपालीहरू सेवा लिन आएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले नेपाली समुदायको सुविधाका लागि यस्ता शिविरको आयोजना आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि निरन्तर पहल गरिने जानकारी दिए ।

क्यालिफोर्नियामा रहेका नेपाली समुदायका संस्थाहरूले लामो समयदेखि यस्तो सेवा शिविर सञ्चालन गर्न पहल गर्दै आएका थिए । यो शिविर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्नियाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको हो।

दूतावासको प्रयास र नेपाल सरकारको नीति

शिविरको समापन समारोहमा दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपाली समुदायलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासले यस्ता शिविरहरू सञ्चालन गर्दै आएको बताए ।

उनले भने, ‘अमेरिका भौगोलिक रूपमा अत्यन्त ठूलो देश भएकाले नेपाली दूतावासको सेवा सबै ठाउँमा सहजै उपलब्ध गराउन कठिनाइ छ । त्यसैले नेपाल सरकारले सान फ्रान्सिस्को (क्यालिफोर्निया) र ड्यालस (टेक्सास) मा स्थायी कन्सुलर सेवा कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। यी कार्यालय सञ्चालनमा आएपछि नेपालीहरूलाई अझ छिटो, सहज र प्रभावकारी रूपमा सेवा प्रदान गर्न सकिनेछ ।’

नेपाली समुदायका लागि ठूलो राहत

अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि राहदानी नवीकरण, नागरिकता प्रमाणीकरण, जन्म प्रमाणपत्र, विवाह प्रमाणपत्र, अधिकृत वारेशनामा जस्ता कन्सुलर सेवाहरू अत्यावश्यक हुन्छन् ।

वासिङटन डिसीमा रहेको नेपाली दूतावास टाढा भएकाले धेरै नेपालीलाई यात्रा गर्न कठिनाइ पर्ने हुँदा यस्ता शिविरहरूले ठूलो राहत प्रदान गर्ने स्थानीय नेपालीहरूले बताएका छन् ।

स्थानीय नेपालीहरूले नेपाल सरकारको यो प्रयासको स्वागत गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई अझ सहज र प्रविधिमैत्री बनाउनुपर्ने माग गरेका छन्। साथै, नयाँ राहदानी सेवाको प्रक्रियालाई डिजिटल प्रविधिको प्रयोगमार्फत अझ सरल बनाउनुपर्ने माग पनि उठेको छ ।

यस शिविरबाट सेवा प्राप्त गरेका नेपालीहरूले नेपाल सरकार, नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, र शिविर व्यवस्थापनमा सहयोग गर्ने सबै संस्थाहरूलाई धन्यवाद दिए ।

एनआरएनए क्यालिफोर्निया च्याप्टर को पटक पटकको आग्रहपछि नेपाल सरकारले क्यालिफोर्नियामा कन्सुलर कार्यालय खोल्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय समेत भइरहेको तेजेन्द्र बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?