लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको साझा र वैकल्पिक भनेर भ्रम छर्ने काम भएको आयोगको ठहर

लोकपथ
1.5k
Shares

काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको साझा र वैकल्पिक चुनाव चिन्ह भनेर भ्रम छर्ने काम भइरहेको बताएको छ । शुक्रवार (आज) एक विज्ञप्ति जारी गर्दै आयोगले लौरो स्वतन्त्रहरुको साझा र वैकल्पिक चिन्ह हो भनिनु भ्रामक भएको बताएको हो ।

निर्वाचन आयोगका अनुसार उक्त लौरो चुनाव चिन्ह आयोगमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’लाई दिइएपनि सो चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको ठहर छ ।

दललाई प्रदान गरिएको चिन्ह स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हको सुमूहमा नरहने र उम्मेदवारलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिन्ह प्रयोग नगरी स्वतन्त्रको रुपमा सो पार्टीले प्रयोग गरेको पाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले यससम्बन्धी भ्रामक प्रचार नगर्न र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनि राखिएका सामाग्री हटाउनसमेत भनेको छ । साथै, आयोगले ‘हाम्रो नेपाली पार्टी’का अध्यक्ष अनन्तराज घिमिरेसँग स्पष्टिकरणसमेत सोधेको छ ।

‘हाम्रो नेपाली पार्टी’ लौरो चिन्हको संयोजक अनन्तराज घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण दिन सोधेका प्रश्नहरु ?

१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको प्रदान गरिएको निर्वाचन चिन्हको समूहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नैछ भन्ने कानुनी व्यवस्था रहेकोमा तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो ?

२. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको होरु त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन ?

३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दललाई कुन कानूनले प्रदान गर्यो ?

४. दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने हुँदा तपाई र तपाईंको दललाई कारवाही किन नगर्ने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?