नेपाली कांग्रेसका वौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यस्तो छ गिरीको राजनीतिक यात्रा
हाल प्रतिनिधि सभा सदस्यसमेत रहेका स्वर्गीय गिरी नेपाली राजनीतिक वृत्तमा एक वौद्धिक छवी भएका नेताका रुपमा चिनिन्थे । वि.स. २००४ साल कात्तिक १७ गते सिराहमा जन्मिएका गिरी बाल्यकालदेखि नै राजनीतिमा होमिए । उनका बाबु मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले पनि सानैदेखि राजनीतिक रस थाहा पाएका गिरी २०१७ सालबाट सक्रिय राजनीतिमा पाइला चालेका थिए ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष गरी उनले जीवनकालमा लगभग जेल जीवन बिताए । लामो राजनीतिक यात्रामा गिरी २०२४ सालमा नेपाल छात्र संघ (बनारस) हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्यसम्म भए ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । त्यतिबेलाको व्यवस्थापिका संसदमा उनले नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए । अध्ययन, चिन्तन, मनन गदैै सधैं स्वतन्त्रता र स्वच्छन्दतामा रमाउने नेता गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
गिरीलाई अध्ययनका साथै लेखनमा पनि उत्तिकै रुचि थियो । उसो त लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्र लगायतका उनका दर्जनौं पुस्तक प्रकाशित छन् ।
सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने वौद्धिक र तार्किक व्यक्तिलाई आज नेपालले गुमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया