प्रदेशस्तरीय गजल प्रतियोगिता, विजेतालाई दस हजार नगद पुरस्कार

बुटवल ।  बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता आयोजना गरिएको छ । 

प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई वाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो । शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका विष्णु विवश पोखरेल प्रथम, दाङका वसन्त वली वसन्ती द्वितीय, बुटवलका पुरुषोतम पाण्डे तृतीय र पाल्पाका भोजराज भट्टराई तथा गुल्मीका कृष्ण गाउँलेले सान्त्वना स्थान हासिल गरेका थिए । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले संयुक्तरूपमा प्रतियोगितामा प्रथमलाई र १० हजार, द्वितीयलाई पाँच हजार, तृतीयलाई तीन हजार र सान्त्वनालाई जनही पुरस्कार दुई हजारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

नगरप्रमुख सुवेदीले साहित्य कला र संस्कृतिको उत्थानका लागि उपमहानगरले चालू आर्थिक वर्षका लागि रु २५ लाख विनियोजन गरेको र प्रतिष्ठानलाई बृहत् बनाउने गरी ऐन, नियम, बनाउने काम भइरहेको जानकारी दिए । 

एक दर्जन स्रष्टाले आ–आफ्ना रचना वाचन गर्नुभएका सो प्रतियोगितामा निर्णायक मण्डलका संयोजब बुद राना, सदस्य रुद्र ज्ञवाली, प्रतिष्ठानका सचिव दलबहादुर गुरुङलगायतले साहित्यका विविध विषयमा चर्चा गरेका थिए । 

गजल विधालाई पनि परिवर्तनशील, अग्रगामी र समाज रुपान्तरणको माध्यम बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?