व्यवसायी र सरकारबीच चर्काचर्कीः व्यवसायी भन्छन्, ‘कि मूल्यवृद्धि फिर्ता गर कि भाडा बढाउ’

काठमाडौं । असोज ५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको प्रयास असफल भएको छ । 

सरकारले वृद्धि भएको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता नलिएपछि शुक्रवारबाट खोल्ने भनेको दशैंको अग्रिम टिकट नखोलेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने घोषणा गरेका थिए । 

यसअघि पनि भदौ २४ बाट खुल्ला गरिने भनेको सरकारको निर्णयलाई यातायात व्यवसायीले विभिन्न बहाना बनाएर टेरेका थिएनन् । 

व्यवसायीहरुको अडान

यातायात व्यवस्था विभागले भदौ २४ गते बाटै अग्रिम बुकिङ खुलाउन आदेश दिएको थियो । तर यातायात व्यवसायीहरुको मागका सम्बन्धमा सरकारी तहबाट कुनै पनि पहल नभएको नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले आरोप लगाएका थिए ।

व्यवसायीहरुले यातायात समितिको फ्रिज गरिएको बैंक खाता खोलिदिनुपर्ने शर्त अघि सारेका थिए । आइतवारको छलफलले रोक्का गरिएका यातायात संघ, समितिका खाता खोल्ने निर्णय गरेको थियो ।  सन् २०६९ सालबाट सवारीमा भाडा नबढेको र भाडा बढाउन सरकारले कुनै चासो नदेखाएको उनको भनाइ थियो । 

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको भनाइ पनि यस्तै थियो । सबै काम सरकारले भने बमोजिम गर्न नसकिने उनले बताएका थिए । 

‘पानीबाट गाडीहरु चल्दैन’, सिटौला चर्किए ।

सरकारले कि त पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्छ कि वैकल्पिक माध्यमहरुको सिर्जना गर्नुपर्छ । उनले थपे । 

‘पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म हामी टिकट बुकिङ खोल्दैनांै । माग भने पनि अडान् भने पनि यही हो हाम्रो ।’ उनले बताए । 

यसअघि यातायात व्यवस्था विभाग र व्यवसायीका प्रतिनिधिबीच असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । सो सहमतिमा सरकारले समितिहरुको रोक्का रहेको बैंक खाता खुल्ला गरिदिने बताएपनि कार्यान्वयन नभएको व्यवसायीको भनाइ छ ।

के भन्छ विभाग ? 
‘आइतबारको छलफलले रोक्का गरिएका यातायात संघ, समितिका खाता खोल्ने निर्णय गरी असोज ५ गतेबाट दशैंको अग्रिम बुकिङ टिकट खोल्ने निर्णय गरेका थियौं’ विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए ।

बसपार्कको टिकट काउण्टरहरुमा टिकट बुकिङ खुल्ला गरेको दाबी गरेका छन् भने दशैंमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुल्ला नहुँदा खाली हात फर्कनुपरेको थियो । 

यातायात व्यवसायी र यातायात विभागबीच असोज ५ गतेबाट टिकट बुकिङ र बैंक खाता खुल्ला गर्ने सहमति भएको थियो । चालकको आन्दोलनका कारणले पनि टिकट बुकिङमा असहजता भएको उपाध्याय बताउँछन् ।

‘उहाँहरुको पनि आफ्नै समस्या छ पेट्रोलियम पद्धार्थ र चालकको आन्दोलनको समस्याहरुको समाधान भएपछि टिकट बुकिङमा सहजता हुन्छ ।’

दुई पक्षबीच सहमति भएकाले आफूहरुले निर्देशन दिइराख्नु नपर्ने उनले बताए । टिकट बुकिङमा व्यवसायीको तर्फबाट कुनै रोकावट नहुनेमा ढुक्क हुन उनी आग्रह गर्छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?