गल्ती लुकाउन गुमनाम भएझैँ भयो : एकनारायण भण्डारी

काठमाडौं । ‘लोकगीत लेख्न झनै गाह्रो छ नि, यसको मिटर लगभग एउटै हुन्छ ।’, चर्चित सर्जक तथा संगीतकार एकनारायण भण्डारी भन्दै थिए ।

लोकगीतको मिटर नाप्न गाह्रै भए पनि उनलाई चिनाउने गीतहरु लोकगीत नै हुन् । ती गीतले उनलाई कुशल स्रष्टाको चिनारी दिएको छ । 

लोकगीत हुँदै आधुनिक र चलचित्रका गीत समेत लेखेका एकनारायण भण्डारीलाई कतिले पर्दापछाडिका हिरो भनेर भनिदिने गर्छन् । गीत लेखेरै चर्चा कमाउने सर्जकमध्ये एकनारायण भण्डारीको नाम पनि सेलिब्रेटी नाम हो ।

तर, आजभोलि भने भण्डारीको खासै चर्चा हुँदैन, जति उनको केही वर्षअघि हुने गर्दथ्यो । चर्चा कम भए पनि व्यस्तता भने घटेको छैन । 

‘खासै सार्वजनिक नभएको मात्र हो, समय उत्तिकै व्यस्त छ ।’, भण्डारी सुनाउँछन् ।

खास गरी दोहोरी गीतले चिनाएको हो एकनारायण भण्डारीलाई । सुपारी चाम्रो, जिम्माल बाको आँगनीमा, धेरै माया गर्छु, लालुपाते नुग्यो भुँइतिर, रातो पछ्यौरी लगायतका कैयन् चर्चित गीतका सर्जक एकनारायण भण्डारी यतिबेला भने सिनेमा र आधुनिक गीत लेखनमा पनि उत्तिकै सक्रिय छन् ।

‘मेरो खास विधा त लोकगीत नै हो, आजभोलि भने फिल्मका गीत र आधुनिक गीतमा पनि काम गरिरहेको छु’, उनी भन्छन्, ‘पछिल्लो समय डान्सिङ गीतहरु पनि उत्तिकै लोकप्रिय छन् ।’

झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि उनको गीत रहनेछ । फिल्म र आधुनिक गीतबाहेक लोकगीत रेकर्ड गराउन पनि उनले भ्याएकै छन् ।

भण्डारी भन्छन्, ‘लोकगीत लेखन अरु गीतभन्दा बढी गाह्रो छ, लोकगीतमा लगभग सबै गीतको मिटर एउटै हुन्छ ।’

मिटर भन्नाले गीतको लम्बाइ । प्रायः लोकगीतको लम्बाइ एउटै हुन्छ । उही लम्बाइलका आधारमा गीतका शब्द लेखिन्छ । उनले शब्द सिर्जना गरेका गीतमा पनि लगभग उही लम्बाइ हुने गर्छ । केही गीत भने पृथक शैलीका छन् । ‘गीतको लम्बाइ सबै गीतको लगभग उस्तै हो, दोहोरीका धेरै गीतमा प्रायः एउटै लम्बाइ हुन्छ, हामीले यसलाई मिटर भन्ने गर्छौं ।’, भण्डारी थप्छन् ।

तर, कुनै गीतमा भने संस्कृतिअनुसार गीतको मिटर फरक हुन्छ । सालैजो, रोइला र अन्य केही गीत, पूर्वेली गीत र ठाउँअनुसारका गीतको मिटर भने फरक पर्ने भण्डारी बताउँछन् ।

‘ठाउँअनुसार तलमाथि पर्ने एउटा कुरा भयो, तर लोकगीतका भाका (कड) अनुसार प्रायः गीत लगभग उस्तै हुन्छन् ।’, उनी भन्छन् ।

भण्डारीले आधुनिकदेखि फिल्मसम्मका गीत लेखे पनि उनी आफूले लेखेका गीतलाई लोकगीत नै भन्न रुचाउँछन् ।

‘लोकगीतको लम्बाइ एउटै हुँदा मेलोडीमा खेल्न अलि गाह्रो हुन्छ, आधुनिक गीतजस्तो ढालेर लेख्न पाइँदैन’, उनी अगाडि थप्छन्, ‘लेखकका रुपमा हेर्ने हो भने मैले लेखेका सबै गीतलाई लोकगीत मान्छु, किनकि मैले लेखेका प्रायः गीतले समाजकै कथा हुन्, मैले तिनै मिटरलाई आधार बनाएर लेख्ने गर्छु ।’

सिनेमाका गीतमा पनि लोक शैलीका गीत प्रयोग हुन थालेका छन् ।

भण्डारीलाई मन पर्ने गीत श्रंगारिक गीत नै हुन् । त्यस्ता गीतले उनको मन छुन्छ । आफैले गाएकामध्ये उनलाई फूलमा मौरी डुल्ने बेलामा, मैले मन पराएको छु र जिम्मल बाको आँगनीमा अझै प्रिय लाग्छन् ।

त्यसो त उनका आधुनिक गीत पनि उत्तिकै चर्चित छन् । आमाले घाँस काट्दै गर्दा पनि उनलाई मन पर्ने गीत नै हो ।

भण्डारी प्रचारमा आउन भने त्यति रुचि राख्दैनन् । किनकि, उनले आफ्ना गीत चर्चित भए पनि शब्दमा कमजोरी देखिरहेका छन् । ‘मलाई प्रचारमा आउन किन पनि मन लाग्दैन भने मेरा गीतमा मैले कमजोरी देखिरहेको छु, हरेक गीतमा अझै यसो गर्न पाएका भए हुन्थ्यो भन्ने लागिरहन्छ’, उनी हाँस्दै सुनाउँछन्, ‘गल्तीहरु ढाकछोप गर्न प्रचारमा नआएजस्तै भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?