अमेरिकामा प्रथम विद्वत् धर्मसभा

लोकपथ
78
Shares


न्यूयोर्क । विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न गरेको छ ।

उक्त धर्म सभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानाडाबाट स्वामीसुदर्शनाचार्यजी र डा. खेमप्रसाद नेपालको उपस्थिति रहेको थियो ।

यसका साथै अमेरिकाको १० वटाभन्दा बढि शहरहरूबाट एकसय भन्दा धेरै गुरु, पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

दीप प्रज्ज्वलनसँगै उपस्थित गुरुजनले स्वस्तिवाचन गरी सुरु गरिएको उक्त धर्मसभामा संस्थाका उपाध्यक्ष आचार्य श्रीखिम खतिवडाले स्वागत गरेका थिए ।

यसरी नै यस सभाको अध्यक्षता संस्थाका अध्यक्ष कमल धिमालले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका बोर्ड चियर नारद अधिकारीले गरेका थिए । समाजकै वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ (पशुपति) खनालको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाको वैदिक निर्णायक समितिका संयोजक पं. श्रीहरि फुयालले धर्मसभाको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

अध्यक्ष श्रीकमल धिमालले विगत र वर्तमानमाथि चर्चा गर्दै विभिन्न चुनौति र अवसरहरूका विषयमा प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पारेका थिए ।

उनले विश्व भूटानी हिन्दू संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावि योजनाका सम्बन्धमा पनि प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पारेका थिए ।

पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहेका वैदिक धर्मावलम्बी नेपालीभाषी भूटानीहरू कसरी एक भएर हाम्रा धरोहर– भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विभिन्न स्थानहरूमा स्थापित मठमन्दिरहरूको संरक्षण र संवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मञ्चासीन सम्पूर्ण स्वामीहरू तथा विद्वज्जनले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । धर्मसभाले विभिन्न निर्णयहरू पनि गरेको छ ।

धर्मसभामा विभिन्न सम्प्रदायका स्वामीजी महाराजहरू, विद्वान् विदुषीहरू र यसका अनुयायीहरूले आआफ्नो सम्प्रदायको अस्तित्वलाई कायम राखी एकअर्कालाई सम्मान, सहयोग र सद्भावका साथ वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि एक भएर अघि बढ्ने निर्णय भएको छ ।

हाम्रो वैदिक सनातन धर्मका अनुयायीहरूका घर–घरमा, समाजमा र विभिन्न संगठनहरूमा उठेका प्रश्नहरू र धर्मअन्तर्गत छाएका अन्योलतालाई निकास दिनुका साथै देश, काल र परिस्थितिअनुरुप हाम्रा युवा पुस्तालाई धर्मको मर्म एवं भावनालाई बुझाउँदै र सिकाउँदै अघि जान विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले यस वैदिक विद्वत् धर्मसभाबाट पूर्णता पाएको छ ।

पं. हरि फुयालको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले भविष्यमा पनि यस्ता ऐतिहासिक धर्मसभालाई निरन्तरता दिने र समितिले आवश्यकता अनुसार समय–समयमा विद्वत् धर्मसभाको आयोजना गर्दै जाने भएको छ । समाजमा उठ्न सक्ने विभिन्न प्रश्न एवं जिज्ञासाहरूको समाधान गर्न शास्त्रीय प्रमाणसहित उपयुक्त पहल गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

विश्व भूटानी हिन्दू संगठनले केही महिना अगाडि घोषणा गरेको २०२५ मा हुने विश्व शान्ति महायज्ञमा यस धर्मसभामा सम्पूर्ण उपस्थित स्वामी, महाराज, आचार्य, पण्डित एवं पुरोहितहरूको सहमति र सहयोग गर्ने र ऐतिहासिक यज्ञलाई सफल पार्ने निर्णय गरिएको छ ।

उक्त महायज्ञमा १०८ श्रीमद्भागवत महापुराण, चार वेद र अन्य विभिन्न धर्मग्रन्थहरूको समेत पाठपाराण तथा सङ्गीतमय कथ प्रवचन हुने भएको छ । यसै सामुहिक महायज्ञमा पञ्च कुण्डीय हवन, एक करोड दिप प्रज्ज्वलन र १०८ शङ्खनाद समेत गरिने निर्णय भएको छ ।

यस धर्मसभामा उपस्थित स्वामी केशावाचार्य, स्वामी दामोदराचार्य, श्रद्धेय स्वामी कृष्णप्रपन्न, स्वामी रामानुजाचार्य तथा क्यानाडाबाट स्वामी सुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दु संगठनले ‘धर्म–संवाहक’ उपाधिले अभिनन्दन गर्नुका साथै संस्थाको सम्मानार्थ सदस्यता समेत प्रदान गरेको छ ।

वासुदेवशरण महाराज, स्वामी वासुदेवाचार्य, स्वामी गोविन्दाचार्य, स्वामी भागवताचार्य, स्वामी कृष्ण प्याकुरेल, पण्डित शिवप्रसाद पोख्रेल, पण्डित महेश्वर रेग्मी, र वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ खनाललाई यस अघि नै अभिनन्दनका साथ सम्मानार्थ सदस्यता प्रदान गरिएको कुरा संस्थाका अध्यक्षले जानकारी गराएका थिए ।

यसका साथै, २०१७ सालदेखी विश्व भूटानी हिन्दू संगठन अन्तर्गत वैदिक निर्णायक समिति र पञ्चाङ्ग निर्माण समितिसँग आबद्ध समाजका विद्वान् तथा विदुषीहरूले दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस धर्मसभामा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?