पशुपालनबाट लाभ लिदै शिक्षित युवा

– गोपालप्रसाद पोखरेलपथरी, मोरङ, २९ असोज ।मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहेका छन ।कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उनले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गरेका हुन ।विसं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गर्नुभएका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिएका छन । हामीकहाँ पढेलेखेका व्यक्तिले जागिर खानुपर्छ, पैसा कमाउन युरोप अमेरिका जानुपर्छ भन्ने सामाजिक मान्यता स्थापित हुँदै गएको छ । तर त्यो मानसिकतालाई उनले तोडेका छन ।विसं २०६६ मा भारतको हरियाणाबाट ब्राउन सुइस जातका दुई वटा गाई ल्याएर गोठमा बाँधेपछि पशुपालनमा उनको रुचि झनै बढ्यो । आठ वर्षको अवधिमा उनको गोठ ब्राउन सुइस, क्राउनडाउन, होलस्टेन, इजेट थारोपकार, जर्सी, लियङ्दी जातका दुधालु गाईले भरिभराउ छ । उनी भन्छन, “६० वटा गाई छन्, जसमध्ये १८ वटा दुहुना छन् । १९ वटा ब्याउने छन् भने अन्य कोरली छन् । “अहिले दैनिक १५० लिटर दूध उत्पादन हुन्छ ।त्यसो त ढुंगानाले माता पार्वतादेवी एण्ड आविष्कार बहुउद्देश्यीय कृषि फार्म नै दर्ता गरेका छन । उनको फार्मबाट उत्पादित दूध उर्लाबारी, तरहरा, विराटनगर, धरान, काँकडभिट्टालगायतका शहरमा दैनिक बिक्री हुने गरेको छ । भन्छन, “खर्च कटाएर वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ ।” ढुंगाना थप्नुहुन्छ, “साथीभाइ मात्र होइन आफन्त र नातागोताले पनि विदेश जान सुझाउँछन् तर आफ्नो देशमा दुःख, सुख साट्ने परिवार साथमा छ ।” फेरि विदेशमा पैसाका लागि काम गर्नै पर्छ । व्यवसाय शुरु गर्दा मलिन अनुहार बनाएका बुबाआमा मात्र होइन आफन्त नातागोता र साथीभाइ अहिले खुशी छन् ।गाउँ समाज पनि विज्ञानको पशुपालनप्रतिको मोहबाट प्रशन्न छ । ११ जना कामदारका साथ दैनिक सँगै खटेर काम गर्छन । गोबर सोहोर्ने, गाई दुहुने मात्र होइन चारोको प्रबन्ध मिलाउने काममा पनि उनी खट्छन । भन्छन, “सय माउ पाल्ने योजना छ ।” ढुंगानाको फार्ममा अहिले गाईका अतिरिक्त २९९ वटा कुखुरा, ५० वटा बाख्रा र १२ वटा टर्कीसमेत रहेका छन् । यी सबैबाट वार्षिक रु १२ लाख आम्दानी हुने उनी बताउछन ।दूध डेरी उद्योगले प्रतिलिटर रु ४८ मा किनिदिने गरेको छ । अझ गोबर मलबाट झनै राम्रो आम्दानी छ । गोबर प्रतिटिपरको रु १० हजार र प्रति ट्र्याक्टर रु चार हजारले बिक्री हुने गरेको छ ।वार्षिक रु दुई लाख गोबर मलबाट मात्र आम्दानी हुने उनको भनाइ छ । नजिकै पशु प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परेपछि उनले आफैँ भेटेनरी शिक्षा अध्ययन गरे । अहिले उनी गाईलाई लाग्ने सामान्य रोगको आफैँ उपचार गर्छन । ढुंगानाको कामलाई उनकी पत्नी भावनाले पनि सघाउँदै आएकी छिन ।दुई वटा गाईको रु दुई लाख ५० हजार र फार्म निर्माणमा रु २२ लाख खर्चेका ढुंगानाको फार्ममा अहिले रु ५० लाख मूल्य बराबरका गाई रहेका छन् । पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानलाई निःशुल्क तालीम तथा परामर्श दिँदै आएको जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गर्दै ढुंगानालाई सम्मान गरेको छ । नगद रु पाँच हजारसहित प्रमाणपत्रले सम्मानित भएपछि ढुंगानाको आँट र इच्छा शक्ति अझ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?