वैदेशिक रोजगारको सिण्डिकेट र ठगीविरुद्ध कठोर कदम चाल्छौं : मन्त्री विष्ट

काठमाडौं । श्रम तथा सामाजिक सुरक्ष मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको नाममा खडा गरिने कुनै पनि प्रकारको सिण्डिकेट र ठगीलाई रोक लगाउन जस्तोसुकै कठोर कदम चाल्न पनि पछि नपर्ने बताएका छन् । 

मन्त्री विष्टले भने एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ४ सय ७७ जनाको मृत्यु भएको संसदमा जानकारी गराएका छन् । अहिलेसम्म वैदेशिक रोजगारीका क्रममा ६ हजार ६ सय ५९ जना नेपालीले ज्यान गुमाउनु परेको उल्लेख गरे । 

बजेट छलफलमा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा गएका लाखौं युवाको श्रम र पसिनामा मुठ्ठीभर व्यक्तिले लुट र ठगीको स्वर्गीय राज चलाएको भन्दै वैदेशिक रोजगारीको नाममा हुने सबै किसिमको ठगी सरकारले रोक्ने दाबी गरे ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको श्रममा कसैले राज गर्न नदिने बताउँदै उनले भने, ‘लाखौं युवाको श्रम पसिनामाथि मुठीभरका व्यक्तिको लुट र ठगीको स्वर्गीय राजको अन्त्य गर्न सरकार सक्रिय छ ।’ मलेसिया जाने नेपाली युवाहरुलाई भीएलएन, ओएससी, माइग्रामजस्ता संस्था खडा गरी ठगी भइरहेकाले गैर कानुनी प्रक्रियाबाट रकम असुल गर्ने यी संस्थाहरुमाथि अघि बढेको कारबाही नरोकिने मन्त्री विष्टले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?