ढल्न लागे घरका खम्बा : छैन कोही सहारा

सर्लाही लालबन्दी १५ को परमानीपुर बस्तीछेवैको कालीन्जोर खोला यतिबेला सुकिसकेको छ ।

छेवैमा बाँसको टाटीले बेरेकोे पुरानो घर छ । चिसो शीतलहर जसोतसो छेकेको अँध्यारो घरभित्र तीनवटा खाटले सधैँ सहयोगी हातहरु पर्खिरहेका हुन्छन् । तीन वर्षदेखि थला परेका बिरामी बोकेका ती खाटको दृश्य हेर्दा जोसुकैका पनि आँखा रसाउँछन् ।

बायाँतिरको खाटमा क्यान्सरपीडित ३५ वर्षीय भोजबहादुर वाइबा पल्टिरहेका छन् । छेवैका दुईटा खाटमा दुवै खुट्टा नचल्ने उनका ८१ वर्षीय बुबा र दमले थला परेकी ७५ वर्षीया आमा धनमाया खोकिरहेकी ।

संसारमा थोरैलाई हुने स्पाइनल कर्डको क्यान्सर देखिएको भोजबहादुरको उपचार नै छैन ।

२०७२ सालदेखि उनलाई तिघ्रा पोल्ने समस्या देखिएको थियो । अहिलेसम्म लगभग एक करोड रुपैयाँ उपचारमा सकियो । तर निको नै भएन । २ वर्ष टिचिङ अस्पतालमा स्टडी भन्दै राखिदियो । तिघ्रा पोल्ने समस्याको उपचार खोज्दाखोज्दै सुरुको २ वर्ष बित्यो ।

स्टडीका लागि भनेर अस्पतालमा बस्दाबस्दै उनलाई रोगले झन्झन् च्याप्दै गयो । दिनप्रतिदिन रोग बढ्न थालेपछि उनलाई ब्रेनमा समात्न थाल्यो । बस्न उठ्नसमेत समस्या हुन थाल्यो । उनको मलद्वारछेउको हड्डीमा ट्युमर पलाएको रहेछ ।

त्यसको अप्रेसनको लागि भनेर नै अस्पतालले ३ वर्ष बिताइदियो । रोग झन् जटिल बन्दै गयो । अन्तिममा अस्पतालले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिदियो ।

भक्तपुर अस्पतालले नसा दोब्रिएको भन्दै औषधि चलायो तर रोग निको भएन । फेरि सो अस्पतालले काठमाडौं मेडिकल कलेज सिनामंगल रिफर गर्‍यो । त्यहाँ पनि उपचार सम्भव भएन ।

२ वर्षको उपचारपछि उक्त अस्पतालले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरिदियो ।
त्यहाँ पनि नभएपछि अस्पतालले मेडिसिटी हुँदै ग्राण्डी अस्पतालमा रिफर गरिदियो । कोरोना संक्रमण सुरु भएको पहिलो लकडाउनमा उनी अस्पताल नै नगई १ वर्ष रेस्ट गरे । पैसा पनि त्यतिखेर सकिसकेका थिए उनले उपचारका क्रममा ।

तर, पनि मन न हो उनले अझै हरेस खाएनन् । निको हुने आशमा गाउँमा भएको जग्गा बेचेर साँढे १७ लाख रुपैयाँ पैसा बोकेर उपचारका लागि काठमाडौं आए ।

राष्ट्रिय ट्रमा सेन्टरमा ९ महिना बस्दा पनि रोग निको भएन । कसै गरे पनि निको हुन नसकेपछि उनी अहिले एक महिनादेखि त्यही पुरानो घरमा फर्किएका छन् ।

उपचार हुन्छ, निको हुन्छ भनेर आश देखाएका अस्पतालहरूले अब उपचार नहुने भनेको उनी बताउँछन् । उनले आफूसँग भएको सबै सम्पत्ति उपचारमै सकाए । सबै पैसा सकिएको थाहा पाएपछि अस्पतालहरूले आफैँ निकालेर पठाएको उनको गुनासो छ ।

डाक्टरहरू उनको दुईटै खुट्टा काट्नुपर्छ भन्थे । निको हुने आशमा उनले स्वीकृति पनि दिसकेका थिए । कोही कम्मरदेखिको सबै भाग काट्नुपर्छ भन्थे । र पनि उनी अस्वीकार गर्दैनथे । बस, उनलाई सन्चो हुनु थियो । तर जब पैसा सकिँदै गयो उनको उपचारका सम्भावनाहरू पनि सकिँदै गए ।

उनी दिसापिसाब कन्ट्रोल गर्न सक्दैनन् । भनौँ उनलाई थाहा नै हुँदैन । युरिनब्याग लगाइरहनुपर्छ । महिनाको ५० हजार त उनको प्याम्पस (डाइपर) र युुरिनब्यागमा मात्र खर्च हुन्छ ।

तराईमा अहिले शीतलहर चलिरहेको छ । घामको अनुहार देख्न पाइएको छैन । चिसोका कारण उनलाई झनै गाह्रो हुन्छ । दुखाइ सहनै सक्दैनन् उनी । युरिनब्याग धेरै लामो समयसम्म लगाइरहँदा इन्फेक्सन हुने सम्भावना हुनाले हप्ता दिनमा फेर्नुपर्छ ।

काठमाडौँमा ४ सय रुपैयाँमा पाउने एउटा युरिनब्याग लालबन्दीको मेडिकलमा ३५ सय रुपैयाँमा किन्नुपरेको उनले बताए ।

उनले नेपालमा मात्र होइन, भारतमा समेत उपचार गराए । त्यहाँ पनि सम्भव नभएपछि उनी गाउँ नै फर्किए ।

छेवैमा सुतिरहेकी छिन् ७५ वर्षीया उनकी आमा धनमाया । उनी दम र उच्च रक्तचापको बिरामी छिन् ।

भोजबहादुरका बुबा अजिरमान पनि लडेर दुईटै खुट्टा भाँचिएपछि थलिएका छन् । उनी पनि हिँडडुल गर्न सक्दैनन् । दिशापिसाब गराउन लैजान कसैको सहारा लिनुपर्छ ।

अजिरमान र धनमायाका तीन छोरा छन् । कान्छा छोरा भोजबहादुर र माइला छोरा तीर्थबहादुर (प्रमेश) पनि अशक्त छन् । प्रमेशलाई प्रत्येक १५ दिनमा त कहिले एक दिनमा दुई पटकसम्म आईसीयूमा राख्नुपर्छ । प्रेसरले हानेर उनलाई प्यारालाइसिस भएको छ ।

‘गाउँमा एक÷दुई रुपैयाँ कसैले पत्याउँदैनन्’ दमले थला परेकी धनमायाले भनिन्, ‘यही एउटा कान्छो थियो गरेर खुवाउने, यसलाई पनि यस्तो भयो, कसरी होला बाँच्ने !’

शरीर सुकेर गए पनि भोजबहादुर टड्कारो बोल्छन् । मानौँ उनलाई केही भएको छैन । उनी कहिलेकाहीँ आफू हिँडिरहेको सम्झिन्छन् । हिँड्न सक्ने भएको सपना देख्छन् । तर नसा सबै खुम्चिएका कारण उनको पछाडिको भाग गानिएर डल्लो भएको छ ।

‘थचक्क ह्वीलचियरमा बस्न मात्रै सकेको भए पनि मलाई महिनामा १ लाख कमाउन समस्या पर्दैन’, उनले भने, ‘पीडा अत्यधिक हुन्छ, कम्मरदेखि तलको भाग छुन सकिँदैन दुखेर ।’

आज घाम लाग्दैन भन्ने कुरा बिहानै उनको दुखाइबाट थाहा हुन्छ उनलाई ।
उपचारमा सबै सम्पत्ति सकेका उनका परिवारले अहिलेसम्म कतैबाट सहयोग पाएका छैनन् । उनले पहल पनि गर्न सकेका छैनन् ।

पहल गर्न कहाँ कसलाई भन्ने, सहयोग कसले गर्छ त्यो पनि थाहा छैन उनीहरूलाई ।

नगरपालिकाले सकेको सहयोग गर्छु भनेको भए पनि हालसम्म केही नगरेको उनको गुनासो छ । उनलाई अरु केही नभए पनि युरिनब्याग र प्याम्पसको लागि सहयोग गरिदिए हुनेथियो भन्ने अपेक्षा छ ।

अझै उनलाई आफ्नोभन्दा पनि छोराछोरीको चिन्ता लाग्छ । उनीहरूको भविष्यप्रति चिन्ता छ । कुनै संघसंस्थाको पहलमा छोराछोरीलाई पढाइदिए उनी धन्य हुने बताउँछन् ।

काठमाडौंमै जन्मिएर त्यहिँको बोर्डिङ स्कुलमा ५ कक्षा पढ्दै गरेकी उनकी छोरी काठमाडौँबाहेक अन्त पढ्नै मान्दिनन् ।

‘म त यस्तै भइहालेँ, तर पनि मेरो छोराछोरीको पढाइमा कसैले सहयोग गरिदिए हुनेथियो’, उनले भने ।

काठमाडौं चाबहिलस्थित टोयटा कम्पनीको वर्कशपमा उनी हेड मिस्त्रीको रूपमा काम गर्थे । १४ वर्ष काम गरेपछि उनीसँग आफ्नै गाडी थियो । उनको कमाइ मनग्य थियो । कस्तो मान्छे अहिले कस्तो भएको उनका आफन्त तथा साथीहरू बताउँछन् ।

उनले काम छोडेको ३ वर्ष भयो । उनको खुट्टा नचलेको पनि ३ वर्ष नै भयो । बेलैमा अस्पतालले उनको समस्याको पहिचान गरिदिएको भए त्यत्रो खर्च गर्नु नपर्ने उनी बताउँछन् ।

सबै सम्पत्ति सकिएपछि उपचार सम्भव छैन भनिदिँदा परिवारको विचल्ली भएको उनको गुनासो छ ।

‘खुट्टा नै काट्नुपरे पनि, कम्मर नै काट्नु परे पनि मेरो अपरेसन गरिदिएको भए हुनेथियो चाहे म मरेकै सही’, उनले निराश हुँदै भने, ‘यसरी आफ्नो बालबच्चा र बुबाआमा श्रीमतीको अगाडि म बिजोग देखाएर त म बस्नुपर्ने थिएन ।’

उनलाई कसैले ठूलो स्वर गरेर चिच्याएको, झर्केर बोलेको आवाज र बाहिरको ठूलो आवाजले समेत पीडा हुन्छ । सुतिरहेको खाट कसैले हल्लाइदिए पनि उनी मुर्छा पर्छन् । ठूलो आवाजले उनको दिमागमा असर गर्छ । त्यही दुखाइ मुटु हुँदै कम्मरमुनिको सबै भागमा फैलिन सुरु हुन्छ । दुखाइ एकदमै चर्किन्छ । कसलाई सुनाउनु, रोएर, कराएर पनि भएन ।

छोरी सुमिना १० वर्षकी भइन् । उनकी २७ वर्षकी श्रीमती प्रमिला श्रीमान्, सासु, ससुरा र छोराछोरीको स्याहारसुसारमा खटिरहन्छिन् । भएको जग्गा जमिन, सम्पत्ति उपचारमै सकिएपछि छाक टार्नसमेत मुस्किल परेको छ उनलाई ।

बनीज्याला गरेर जीवन चलाउने बुबाआमालाई समेत सुखमा राखेका भोजबहादुरले आफँै त्यो अवस्थामा पुगिएला भन्ने कल्पनासम्म गरेका थिएनन् । ११ वर्षको उमेरदेखि नै घर छोडेर काठमाडौँ छिरेका उनको जिन्दगी सोचेजस्तै भइसकेको थियो ।

‘मेरो लागि भन्दा पनि बच्चाहरूका लागि कसैले सहयोग गरिदिए मलाई पुग्थ्यो’, उनले भने ।

आफूभन्दा ८ वर्षले कान्छी उमेरकी श्रीमती आफैँ बच्चै छेजस्तो लाग्छ भोजबहादुरलाई ।

‘मेरै पछि लागेर उनले यतिका संघर्ष गरिरहेकी छिन् । मेरो दिसापिसाब सोहोर्दै मेरो र छोराछोरीको स्याहारमा लागिरहेकी छिन्’, उनले भने, ‘उनले कहिल्यै दिक्क मानेकी छैनन्, अझै हरेस खाइसकेकी छैनन् ।’

‘सास रहुन्जेल आस’ भनेझैँ अहिलेसम्म पनि उनकी श्रीमती उपचारकै लागि आर्थिक संकलन गर्दै उपचारका उपायहरू खोज्दै छिन् । कहिलेकाहीँ एक्लै सोच्दा त जिन्दगी यतिकैमा बिसाइदिऊँ कि जस्तो लाग्छ भोजबहादुरलाई ।

तर अझै हिम्मत त मरिसकेको छैन ।

‘रोगदेखि चाहिँ म हारेको छैन । विष खाएर मरे पनि रोग लागेरै मरे पनि मर्नु त छदैँ छ, मैले भोग्नुपर्ने यति नै छ भने त भोगेरै मर्नुपर्छ’, उनले भने ।

छोराछोरी र श्रीमतीको अगाडि आफ्नो दुखाइ बाँड्न मन लाग्दैन उनलाई । सुरुसुरुका वर्षमा त उनले रोग लुकाएरै बसे । श्रीमतीले थाहा नपाउने गरी उनी अस्पताल धाउँथे । तर नसकिने नै अवस्था भएपछि श्रीमतीले थाहा पाइन् । आफ्नो कारण श्रीमती र सन्तानलाई चिन्ता नहोस् भन्ने उनको सोच थियो ।

२०७४ सालको चुनावमा उनी बिरामी नै थिए । तर पनि आफ्नो गाउँको विकासका लागि भनेर काठमाडौँदेखि आफ्नै गाडीमा मतदाताहरू ओसारेका थिए हजारौँ खर्च गरेर ।

तर यस्तो दुःख पर्दा स्थानीय सरकार नदेखेझैँ, थाहा नपाएझैँ गरी बसेको उनले बताए । यो अवस्थामा अपाङ्गभत्ताका लागि पहल समेत कसैले नगरिदिएको उनको गुनासो छ ।
सोही वडाका वडाध्यक्ष गोरख बहादुर बल भोजबहादुरको घर बेलाबेलामा गइरहन्छन् ।

‘आर्थिक सहयोग दिने अधिकार वडासँग छैन । हामीसँग स्रोत पनि छैन’, वडाध्यक्ष बलले भने ।

तथापि अपांग परिचयपत्र दिलाई भोजबहादुरलाई पुर्ण अपांगता भक्ता उपलब्ध गराउने प्रतिबद्वता उनले गरेका छन् । भोजबहादुरको परिवारको सहयोगका लागि सक्दो पहल गर्ने उनले बचन दिएका छन् ।

हाम्रो तर्फबाट पनि भोजबहादुरलाई स्वास्थ्य लाभको कामनासहित सबै सहयोगी मनहरुलाई सहयोगका लागि अनुरोध छ । उनका परिवारको सपना र सन्तानको भविष्य उज्यालो बनोस् यही छ हाम्रो चाहाना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?